काठमाडौं । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४० अर्ब ४४ करोड, ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षका लागि कोसी सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । यद्यपि, स्रोत व्यवस्थापन र खर्चको यथार्थ अवस्थालाई हेर्दै मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।
प्रदेश सरकारले पुँजीगततर्फ कुल बजेटको धेरै रकम विनियोजन गरेको छ। लिङ्थेपले कुल विनियोजित बजेटमध्ये विकास निर्माण (पुँजीगत) तर्फ २० अर्ब ७५ करोड २० लाख रुपैयाँ र चालु खर्चका लागि १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । यो बजेट चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा १२.७४ प्रतिशतले बढी हो ।
सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्न आन्तरिक राजस्व, संघीय अनुदान र नगद मौज्दातलाई मुख्य स्रोतका रूपमा अघि सारेको छ । जसमा राजस्व बाँडफाँट (संघीय सरकार) बाट १२ अर्ब ८७ करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदान नौ अर्ब १२ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ। यसैगरी, ससर्त अनुदानतर्फ पाँच अर्ब ९५ करोड रुपैयाँ,आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड रुपैयाँ, नगद मौज्दात (चालु वर्षको बचत) ५ अर्ब रुपैयाँ, समपूरक अनुदान ६४ करोड रुपैयाँ र विशेष अनुदान ५५ करोड रुपैयाँ जुटाउने अनुमान प्रदेश सरकारको छ।
प्रदेश सरकारले आगामी वर्षको बजेटमा मुख्य चार क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । जसमा पूर्वाधार विकास, उत्पादन वृद्धि, सेवा प्रवाहमा सुधार तथा आर्थिक गतिविधि विस्तार रहेका छन् । यी प्राथमिकतामार्फत प्रदेशको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने सरकारको विश्वास छ।

















प्रतिक्रिया दिनुहोस्