Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

व्यवसायीले लबिङ होइन, कर तिर्नुस् ढुक्कले व्यवसाय गर्नुस् : अर्थमन्त्री

व्यवसायीले लबिङ होइन, कर तिर्नुस् ढुक्कले व्यवसाय गर्नुस् : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार तथा आर्थिक गतिविधि विस्तारमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको उल्लेख गरे ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गरिएको बताए। उनले व्यवसायीहरूलाई खुलेर व्यवसाय सञ्चालन गर्न र गर्वका साथ कर तिर्न आग्रह गरे।

उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित नगरीकन यो अर्थतन्त्र अगाडि जाँदैन भन्ने हाम्रो पार्टीको अर्थ–राजनीतिक दर्शनअनुसार नै धेरै कुरा गरेको हो।’ उनले करको दर घटाएर राजस्व वृद्धि गर्ने सिद्धान्तअनुसार सरकारले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको उल्लेख गरे। उनका अनुसार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएका सुधारहरू कुनै समूहको दबाब वा मागका आधारमा नभई सरकारको आफ्नै आर्थिक दर्शनअनुसार लागू गरिएको हो।

मन्त्री वाग्लेले आयकरको सीमा लामो समयदेखि पुनरावलोकन नभएको भन्दै वर्तमान आर्थिक अवस्थाअनुसार कर संरचनामा सुधार आवश्यक रहेको बताए। उनले एक खर्ब रुपैयाँभन्दा बढी बक्यौता शुल्क, दस्तुर, जरिवाना तथा ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको जानकारी दिए। उनले भने,‘खुलेर आउँ, ट्याक्स तिरौँ, गर्विलो नागरिक बनौँ। राज्यलाई पनि भरथेग गरौँ भनेर रेट घटाएर रेभिन्यु बढाउने सिद्धान्ततिर हामी गएका छौँ। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेका हौं ।’

उनका अनुसार तोकिएको मूल कर रकम भुक्तानी गरेपछि थप शुल्क, जरिवाना र ब्याजमा छुट दिने व्यवस्था गरिएको छ। यसले बक्यौताको बोझले थलिएका व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्ने विश्वास अर्थमन्त्रीको छ। १ खर्बभन्दा बढी बक्यौता रहेका व्यवसायीलाई तिर्न आग्रह गर्दै उनले भने, ‘१ खर्बभन्दा बढी बक्यौता थिचिएर जो बस्नुभएको छ। सुरुमा तोकेको कर अलिकति थोरै थियो, त्यहाँबाट शुल्क, दस्तुर, थप दस्तुर, जरिवाना, ब्याज गरेर थचक्कै बस्नुभएको छ। तपाईंहरूले मुद्दा हालिदिनुभएको होला कतै, मुद्दा फछ्र्योट हुनलाई वर्षौँ लाग्ला। नयाँ उद्यम–व्यवसाय गर्नका लागि कि अर्को आइडेन्टिटी बनाएर आउनुपर्यो, कि त विदेशिनुपर्यो। यो तपाईंहरूले माग्नुभएको होइन, हामीले दिएको हो। ठूलो रिस्क मोलेर तोकिएको सुरुको कर तिर्नुहोस्, अनि नयाँ सुरुवात गर्नुहोस् ।’

यसैगरी, अर्थमन्त्री वाग्लेले आर्थिक सुधारका लागि बजेट कुर्नुपर्ने बाध्यता नरहेको उल्लेख गर्दै मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालयबाट पनि नीतिगत निर्णयमार्फत सुधारका काम अघि बढाउन सकिने बताए। उनले भने, ‘सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन। मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णयहरू गर्न सक्छौँ। अर्थ मन्त्रालयबाट पनि गर्न सक्छौँ। यसरी रिफर्म गर्दै जाने हो।’ वर्तमान सरकारले सीमित समयमै उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याउन सफल भएको दाबी अर्थमन्त्रीको छ । ‘ हामी दाबीका साथ भन्छौँ, २०४८ सालपछि यति उदार, होल प्याराडाइम नै सिफ्ट गर्ने गरी उद्यमी–व्यवसायीप्रति दोहोरो चरित्र त्यागेका हौँ। पहिला के हुन्थ्यो भने भाषणमा, कागजमा समाजवाद उन्मुख भनेको छ,’ अर्थमन्त्रीले भने,‘ आफ्नो राजनीति चलाउनलाई निजी क्षेत्र भनेको सबै अवाञ्छित लाभ लिएको वर्ग भनेर गाली गर्ने फेरि उनीहरूबाटै सहयोग लिइने गरेको छ । यी डबल स्ट्यान्डर्ड, हिपोक्रेसी हामीले फालिदिएका हौँ। जे हो, त्यो बोलौँ भनेर हामीले गरेका हौँ।’

उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै खुला व्यवसाय, कर तिर्ने संस्कृतिको विकास तथा राज्यप्रति उत्तरदायित्व बढाउने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit