दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उनले वार्षिक १५ लाखसम्म आम्दानी हुने गरेको सुनाउँछन् ।
बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उहाँ कामका लागि भारत गए। । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्र्किए । कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन त्यसैको उदाहरण बनेका छन् । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरे।पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ ।
राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छभने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु’, ढकालले भने । उनले बाह्रैमास तरकारीखेती गर्नुहुन्छ । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिए ।
हाल उनकी एक छोरी विदेश र छोरा शिक्षक रहेका छन् । ३० लाख खर्चेर बस्न लायक घर बनाएका छन् । आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन् । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किनेका छन् । आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिए ।
तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उनले बताए । ‘कृषि व्यवसाय विस्तारका लागि हालसम्म रु १० लाख बराबरको अनुदान प्राप्त गरेँ । कृषि विषयमा अध्ययन अनुसन्धान गर्न कृषि ज्ञान केन्द्रले भारत भ्रमणमा समेत पठाएको छ । कामको खोजीमा जानुभन्दा र व्यवसायीका रूपमा भारत भ्रमणमा जानुको आनन्द नै बेग्लै हुँदो रहेछ’ उनले खुशी साटे ।
व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए ‘कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो’, उनको कथन छ, ‘यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।















प्रतिक्रिया दिनुहोस्