Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

परम्परा जोगाउँदै अठारौँ शताब्दीदेखिको १५ दिने माध्यमिकी परिक्रमा यात्रा

परम्परा जोगाउँदै अठारौँ शताब्दीदेखिको १५ दिने माध्यमिकी परिक्रमा यात्रा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ ।

विज्ञापन
Advertisement
Advertisement

भगवान् रामचन्द्र (मिथिलाबिहारी) र माता सीता (किशोरीजी) को डोलासँगै १५ दिनसम्म नेपाल र भारतका विभिन्न १५ धार्मिकस्थलमा बास बस्दै गरिने यस परिक्रमा यात्राले संसारको सबै दुःख, कष्टबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताए । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रमा लामो पैदल यात्रा रहेकाले यस यात्रालाई मिथिलाको महाकुम्भ मानिन्छ । नेपाल र भारत दुवै देशको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाको क्रममा नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्रामस्थल छन् ।

विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ । मिथिलामहात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ । यात्राभरि यात्रीहरुसँग भगवान् रामचन्द्र र माता सीताले यात्रा गर्ने विश्वास गरिन्छ । यात्रीले मृत्युपश्चात् स्वर्ग प्राप्त गर्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी फागुन पूर्णिमाको तिथि पारेर होली खेलेर समापन गरिन्छ । सीताको जन्मभूमि जनकपुरधाम ऐतिहासिक मिथिला राज्यमा पर्दछ भने मिथिलाका राजा जनकले प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको किंवदन्ती छ ।

जलेश्वर नगरपालिका–८ का पं बद्रीनारायण झाका अनुसार भगवानको भक्ति गर्दै भगवानसँगै गरिने यस यात्राका सहभागीहरुले चारधामको यात्रा बराबर फल प्राप्त गर्ने विश्वास गरिन्छ ।

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाका दिन मिथिला नगरपालिकाको कचुरी गाउँमा अवस्थित मिथिला विहारीको कुटीबाट मिथिला विहारी (भगवान् रामचन्द्र) तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजी (माता सीता) को डोला (पालकी) का साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी, भजनकीर्तन र साधुसन्त, महात्मा तथा हजारौँ यात्रीहरु परिक्रमा यात्रा सुरु गर्छन् ।

जनकपुरको हनुमानगढीबाट सुरु हुने परिक्रमाका यात्री पहिलो बासका लागि सीमावर्ती भारतीय गाउँ कलानेश्वर पुग्छन् । भजनकीर्तन गर्दै भगवान्को डोलाको अघिपछि पुग्ने यात्रीहरु राति भगवानकै डोलाको चारैतिर बसेर भजनकिर्तन गर्ने, खानपिन गर्ने र सुतेर रात बिताउँछन् ।

दोस्रो दिन भारतकै सीमावर्ती गाउँ गिरिजास्थानमा बासका लागि पुग्छन् । तेस्रो रातको विश्रामका लागि नेपाल प्रवेश गर्दै महोत्तरीको मटिहानी आइपुग्छन् । यहाँ परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गर्दै विश्रामस्थलमा खानपानको व्यवस्था गर्दै आएको छ ।

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधिभएको सम्झना गरिँदै यहाँ परिक्रमाको तेस्रो दिनको पराव (विश्राम) गरिने गरिन्छ । यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, महोत्तरी गाउँपालिकाको मडैगाउँमा पाँचौँ, बलवा नगरपालिकाको धु्रवकुण्डमा छैटौँ र भङ्गहा नगरपालिकाको कञ्चनवन गाउँमा सातौँ दिनको बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वता पुग्छन् ।

धनुषाकै धनुषाधाममा नवौँ, षतोषरमा दशौँ, औरहीमा एघारौँ, फेरि भारतको करुणामा बाह्रौँ, भारतकै विशौलमा चौधौँ र अन्तिममा जनकपुरधाममा आएर पन्ध्रौँ दिनको विश्राम गर्ने परम्परा छ ।

यस परिक्रमा यात्रामा नेपाल–भारतका हजारौँ साधु, सन्त महन्थ र गृहस्थहरुको सहभागिता रहँदै आएको छ । यात्रामा मिथिलाञ्चलका प्रत्येक गाउँ बस्ती मात्रै नभएर प्रत्येक घरका वयोवृद्धसहित तीनै पुस्ताको उल्लेख्य सहभागिता रहने गरेको छभने कतिपय घरका सदस्यहरुले जीवनमा पाँच पटक, सात पटक र कसैकसैले १० पटकसम्म यात्रा गरेको पाइन्छ ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार यात्राका क्रममा नेपाल र भारतका १५ वटै पराव (विश्राम) स्थलमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । जहाँ लाखौँ रुपैयाँको कारोबार हुने गर्दछ । उनका अनुसार यस मेलामा खाद्यान्नदेखि घरायसी प्रयोजनका सामग्रीको किनमेल, खेल मनोरञ्जनलगायतका क्षेत्रमा व्यापार हुने गर्दछ ।

यस वर्ष फागुन १५ गतेदेखि सुरु भएको १५ दिने माध्यमिकी परिक्रमा यही फागुन २९ गतेसम्पन्न हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit