Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विदेशबाट फर्किएर गाउँमै सागसब्जी खेती, मासिक एक लाख आर्जन गर्दै राई

विदेशबाट फर्किएर गाउँमै सागसब्जी खेती, मासिक एक लाख आर्जन गर्दै राई
विज्ञापन
Advertisement

धरान । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिदै गर्दा केही युवा भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले ३० हजार रुपैयाँ लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएको बताउँछन् ।

विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । यतिबेला उनले खेती गरेको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा तीन जना कार्यरत छन् ।

उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु, गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।”

गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय ४५ देखि ६० रुपैयाँ किलोमा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण १० देखि १५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपरेको उनले बताए। प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरिरहेका उनले गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि पछाडि फर्केर हेर्नु नपरेको सुनाए ।

गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले जानकारी दिए । एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएको सुनाए । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको सात लाख रुपैयाँ अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए ।

केन्द्रबाट अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनको अपेक्षा छ । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउँछन् । रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit