कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरी व्यावसायिक च्याउखेतीमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सफल भएका छन् ।
छ वर्षअघि एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल ‘सुभाष बहुउदेश्यीय कृषि फार्म’ सञ्चालन गर्दै पाँच कट्ठा क्षेत्रफलमा १५ वटा टनेलमार्फत च्याउ उत्पादन गर्दै आएका छन् । प्रारम्भिक चरणमा ज्ञान र सीपको अभावका कारण वर्षको छ महिनामात्र उत्पादन गर्ने गरे पनि अहिले भने उनले बाह्रै महिना च्याउ उत्पादन गर्दै आएको बताए ।
चौधरीका अनुसार हाल उनले मुख्य रूपमा कन्य च्याउ उत्पादन गर्छन् । बजारमा यसको माग उच्च रहेको, उत्पादन धेरै हुने र लागत अपेक्षाकृत कम पर्ने भएकाले कन्य च्याउलाई प्राथमिकता दिएको उनी बताउँछन् । ‘वार्षिक करिब २० लाख रुपैयाँबराबरको च्याउ बिक्री हुन्छ। सबै खर्च कटाएपछि करिब १० लाख रुपैयाँ आम्दानी हुन्छ,’ चौधरीले भने, ‘यस वर्ष ३० लाख रुपैयाँसम्मको च्याउ बिक्री गर्ने लक्ष्य राखेको छु।’
उजले उत्पादन गरेको कन्य च्याउ हाल बजारमा प्रतिकिलो २५० रुपैयाँका दरले बिक्री भइरहेको छ। च्याउको माग निरन्तर बढिरहे पनि मागअनुसार आपूर्ति गर्न भने चुनौती रहेको उनको भनाइ छ। व्यावसायिक च्याउखेतीबाट चौधरीले चार जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिएका छन् । फार्ममा कार्यरत श्रमिकले दैनिक ६०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउने गरेका छन्।
च्याउखेतीबाट प्राप्त आम्दानीले घरखर्च चलाउन, छोराछोरीको शिक्षादीक्षाको खर्च व्यवस्थापन गर्न र जीवनस्तर सुधार्न ठूलो सहयोग पुगेको चौधरी बताउँछन् । मेहनत र लगनशीलतासहित कृषि क्षेत्रमा लागे स्वदेशमै सम्मानजनक आम्दानी र रोजगारी सिर्जना गर्न सकिने उदाहरणका रूपमा उनी स्थापित भएका छन् ।
स्थानीय किसानहरूका अनुसार पछिल्लो समय बजारमा च्याउको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने भएकाले च्याउखेती ग्रामीण क्षेत्रका किसानका लागि आकर्षक व्यवसाय बन्दै गएको छ। रासस














प्रतिक्रिया दिनुहोस्