images images images
images images images
images
images
images

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

images

म्याग्दी । समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाएका हुन् ।

सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पार्नुभएको नक्शा शनिबार बेनीमा सार्वजनिक गरिएको छ ।

images
images

संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापा, (नेकपा ) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरूवाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धान्द्रुकका प्रमुख भीम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले नक्शा सार्वजनिक गरे ।

‘पुरानो नक्शामा अहिले थपिएका पूर्वाधार र सुविधाको जानकारी नहुँदा नयाँ नक्शा बनाउनुपर्ने आवाज उठेपछि समुदायस्तरबाट उठाएको रू छ लाख खर्चेर दुई वटा पदमार्गमा पर्ने सबै स्थानमा पुगेर नयाँ नक्शा तयार पारेका हौँ,’ चित्र तिलिजाले भने, “होटल सुविधा र गन्तव्यको विशेषता सहितका जानकारी समेटिएको नयाँ नक्शा बजारमा पठाइसकेका छौँ । पर्यटन व्यवसायी, पथप्रदर्शक र पर्यटकलाई सहज हुनेछ ।’

सरकारी निकायको झञ्जटिलो प्रक्रिया पूरा गर्नुभन्दा समुदायको सहयोग जुटाएर नक्शा बनाएर राज्यलाई सहयोग गरिएको नक्शा निर्माणकर्ता तिलिजाद्वयले बताए । नक्शा तयार पार्न यहाँका होटल व्यवसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका छन् ।

यसअघि तयार पारिएको नक्शा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्शा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले बताए । ७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा हिँडेको पदमार्गलाई मौरिस हर्जोग नामकरण गरिएको छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधारशिविर जोड्ने यो पदमार्ग तीनदेखि पाँच दिनमा यात्रा गर्न सकिन्छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाँडा, खोपारा र खयर बराह ताल समेटिएको अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग एक हप्तादेखि १० दिनसम्म यात्रा गर्न सकिन्छ ।

images
images

प्रतिक्रिया दिनुहोस्