काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । विशेषगरी प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनि गरेको पूर्व घोषणाको कार्यले प्राथमिकता पाएको र त्यसले स्वास्थ्यको क्षेत्रमा विकास भएको उनको भनाइ छ ।
राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले देशमा भएका समस्याहरुको कारण पनि रहेको भन्दै समाधान पनि भएको बताए । त्यसतर्फ सरकारले काम अगाडि बढाएको भनाई प्रधानमन्त्री ओलीको छ । ‘समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ, त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर आफूले अगाडि बढाएको योजना कतिपय स्थानमा बनिसकेको भन्दै कतिपय स्थानमा तयार हुने क्रममा रहेको चर्चा गरे । उलने त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताए ।
उनले भने, ‘ सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नुु हुँदैन । अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै देशमा रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे ।
कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो । उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उनले व्यक्त गरे ।

















प्रतिक्रिया दिनुहोस्