काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन् । कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर ओलीले श्रद्धाञ्जली दिएका हुन् ।
गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिव शरीरमा विभिन्न सञ्चारगृहका पत्रकार, पार्टीका नेता, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिइरहेका छन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायतले कोइरालाप्रति श्रद्धाञ्जली दिएका छन् ।
नेकपा एसका अध्यक्ष नेपालले देशको राजनीतिक, पत्रकारिता, कूटनीतिकलगायत क्षेत्रमा अनुभवी नेता कोइराला निष्ठावान् आदर्श व्यक्तित्व भएको बताउँदै उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । दिवङ्गत कोइराला वरिष्ठ लेखक र स्तम्भकार, पूर्वसांसद तथा राजदूतसमेत हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्