बैतडी । बैतडीमा रहेको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा आएको छैन ।
दुई वर्षअघि निर्माणसम्पन्न भएको १० मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी भण्डारणका लागि समस्या भएको पाटन–८ का कृषक भरत चन्दले बताए । पाटन वडा नं ८, ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन् । यहाँ उत्पादन भएका तरकारी उपजले बजार नपाएका बेला भण्डारण गरी राख्न कोल्ड स्टोर निर्माण गरिएको भए पनि सञ्चालनमा चासो नदेखाउँदा समस्या भएको उनले जानकारी दिए ।
अहिले यहाँका किसान तरकारी तथा बीउ भण्डारणका लागि डडेल्धुरा जाने गरेका छन् । चन्दले भने, “डडेल्धुरामा त्यहीँका किसानलाई प्राथमिकता हुन्छ, उत्पादन कम भएका बेलामात्रै हामी आलुको बीउ भण्डारण गर्न पाउँछौँ । गत वर्ष भण्डारणमा समस्या भएको थियो ।”
घर नजिकै निर्माण भएको शीतभण्डार सञ्चालनमा नआउँदा उत्पादित तरकारी स्टोर गर्न डडेल्धुरा लैजानुपर्ने समस्या भएको अर्का कृषक गगनसिंह विष्टले बताउँछन् । “आलु, बन्दा, रायो लगायतका तरकारीका लागि पकेट क्षेत्र हो, दुई वर्षअघि नै यसकै लागि भनेर कोल्ड स्टोर निर्माण गरिएको थियो। सञ्चालनमा नआउँदा समस्या भएको भइरहेको छ,” उनले भने ।
प्रदेश सरकार, कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासनलाई कोल्ड स्टोर सञ्चालनका लागि पटक–पटक माग गर्दै आएको भए पनि सञ्चालन आउन नसकेको पाटन–८ का वडाध्यक्ष हरिश विष्टले बताए । किसानलाई डडेल्धुरासम्म वस्तु लैजादा ढुवानी नै महंगो पर्ने गरेको वडाध्यक्ष विष्टको भनाइ छ । सोमबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापाले उक्त कोल्ड स्टोर निरीक्षण गरेका छन् । मन्त्री थापासँग यहाँका किसानले कोल्ड स्टोर सञ्चालन ल्याउन पहल गरिदिन माग गरे ।
“प्रदेशभरि नै कोल्ड स्टोर, तरकारी सङ्कलन केन्द्रका लागि थुप्रै संरचना निर्माण भए पनि प्रयोगमा आउन सकेका छैन । संरचना निर्माण गर्दा सम्भाव्यता तथा प्रभावकारिताको अध्ययन हुनु जरुरी छ ” मन्त्री थापाले भने ।
कोल्ड स्टोरका लागि प्रदेशबाट बजेट विनियोजन हुने तर निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र हुने गरेको छ । तरकारी सङ्कलन केन्द्र तथा कोल्ड स्टोर सञ्चालनका लागि स्पष्ट मोडालिटी नबन्दा समस्या भइरहेको तर्क मन्त्री थापाले दिए । यहाँका किसानले कोल्ड स्टोर सञ्चालनसँगै तरकारी सङ्कलन केन्द्रको मागसमेत गरेका थिए ।
कृषि ज्ञान केन्द्रको १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानी गरी झण्डै ४५ लाखको लागतमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनका लागि कृषि ज्ञान केन्द्र र सञ्चालकले देखाएको उदासिनताले किसान मर्कामा परेका हुन् । उक्त कोल्ड स्टोर सञ्चालक ललितमोहन भट्ट अहिले सम्पर्कविहीन छन् ।
















प्रतिक्रिया दिनुहोस्