काठमाडौं। देशभर वैशाख महिनामा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना तीव्रगतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार वैशाखमा भएका दुई हजार २९४ दुर्घटनामध्ये एक हजार २५३ दुर्घटना तीव्रगतिका कारण भएका हुन् ।
प्रहरीका अनुसार सो अवधिमा चालकको असक्षमताका कारण १३७, हतारमा बाटो काट्दा १३३, मादक पदार्थ सेवनका कारण ११२ तथा अनावश्यक ओभरटेकका कारण ४६ दुर्घटना भएका थिए । दुर्घटनामा १५८ पुरुष, ५४ महिला र २७ बालबालिकासहित कुल २३९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी ७५२ जना गम्भीर र तीन हजार २२० जना सामान्य घाइते भएका छन् ।
वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३७ हजार ९४ सवारी चालक तथा सवारीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीबाट ११ करोड ८२ लाख ७४ हजार १८९ रूपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा भएका दुर्घटनामा तीन हजार ३३४ सवारी साधन संलग्न भएका थिए । दुर्घटनामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन परेका छन् ।
प्रहरी तथ्याङ्कअनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेका छन् । सो अवधिमा ८५९ दुर्घटना भएका थिए । यस्तै, मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म ५०६ तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म ७८ दुर्घटना भएका छन् ।
यसैबीच, पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेशमा दुई र काठमाडौं उपत्यकामा एक जनाको मृत्यु भएको हो ।
















प्रतिक्रिया दिनुहोस्