बैंकक, थाईल्यान्ड । नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी व्यापार सहकार्य र व्यवसाय प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
थाईल्यान्डको राजधानी बैंककमा, नेपाल र थाईल्यान्डका प्रधानमन्त्रीहरूको उपस्थितिमा आज सम्पन्न सम्झौतामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका हुन्। यस समझदारीले नेपाल थाईल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्य प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य लिएको छ। द्विपक्षीय सम्झौताअन्तर्गत व्यापार प्रवर्द्धन, संयुक्त उद्यमका अवसरहरू, व्यापारिक जानकारी आदानप्रदान, औद्योगिक सहकार्य, व्यापार मेला, व्यवसायिक फोरम, तथा विशेष आर्थिक कार्यक्रमहरूमा सहभागिता प्रोत्साहन गर्ने विषय समेटिएको छ।
समझदारीपत्रमा व्यापारिक विवाद समाधान प्रणालीलाई प्रवर्द्धन गर्ने, प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषयसमेत उल्लेख छ। महासंघका अध्यक्ष ढकालले यस सम्झौताले नेपाल(थाईल्यान्ड आर्थिक सहकार्यको नयाँ आधारशिला तयार गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘दुवै देशबीच व्यापार व्यवसाय सहकार्यका पर्याप्त सम्भावना छन्। यस समझदारीले व्यापार तथा लगानीका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ, जसले दुवै राष्ट्रका व्यवसायहरूलाई फस्टाउन मद्दत गर्नेछ।’
थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले भने, ‘यो साझेदारीले दुवै देशका व्यवसायिक समुदायहरूबीच नयाँ अवसरहरू सिर्जना गर्नेछ।’ बिमस्टेक ‘बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल को छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारी तीन वर्षसम्म लागू हुनेछ।
महासंघले यस सम्झौताका लक्ष्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न थाईल्यान्डको बोर्ड अफ ट्रेडसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल यही चैत १९ देखि २३ गतेसम्म थाईल्यान्डको औपचारिक भ्रमणमा रहनेछ र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।

















प्रतिक्रिया दिनुहोस्