Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

३६ महिनामा पनि सम्पन्न भएन १६ किलोमिटर सूर्यविनायक–धुलिखेल सडक

३६ महिनामा पनि सम्पन्न भएन १६ किलोमिटर सूर्यविनायक–धुलिखेल सडक
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।

हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ, आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भने । उनले विविध कारण आयोजनाको समय लम्बिने बताएका हुन् ।

अधिकारीका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रूख, बिजुलीका खम्बा तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।

‘आइपरेका विवाद मिलाउँदै जाँदा काम नै ढिला सुरु हुन पुग्यो, अबको केही महिना लगातार काम भए पनि बर्सात र चाडबाडका कारण समयमै विस्तारको काम नसकिने भएको हो,’ उनले भने । उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छभने अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ ।

आयोजनाका अनुसार हालसम्म सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ । अधिकारीका अनुसार साँगा क्षेत्रमा ठूलो घुम्ती तथा सडक तल र माथि भिर भएका कारण निर्माणकार्य जोखिमपूर्ण अवस्थामा रहेकाले पनि केही समय ढिलाइ हुन गएको तथा कामले तीव्रता नपाएको हो ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)ले समेत देखाएको थियो । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले साँगामा सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने देखाएको थियो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । साँगा धुलिखेल खण्डअन्तर्गत धुलिखेलका बीचमा सडक पक्की गर्ने कामको सुरआत गरिएको छ ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै, विसं २०२१ मा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेका थिए ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ला भएपछि यस राजमार्गमा सवारी चाप बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामो दूरीका सवारी साधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit