Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङ सडक कालोपत्र हुँदै

देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङ सडक कालोपत्र हुँदै
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका विकट महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे भएर बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । सो ‘जनमुक्ति मार्ग’ निर्माणका क्रममा मङ्गलबारदेखि काभ्रेको घर्तीछाप खण्डको सडक कालोपत्र सुरु गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

विकट डाँडापारि क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्ने मुख्य सडक सञ्जाल ‘जनमुक्ति मार्ग’ सडकखण्डअन्तर्गत महाभारतको देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङअन्तर्गत घर्तीछापको डबली उकालोमा ढलानको काम थालनी गरिएको हो ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर भूपेन्द्र कोइरालाले सडकको घुम्ती र उकालोमा गरेर एक हजार ८०० मिटर ढलानको काम सम्पन्न गरिसकेको र आजदेखि कालोपत्रको काम थालनी गरेको बताए । ‘मङ्गलबार घर्तीछापको डबलीबाट कालोपत्रेको काम सुरु गरेका छौँ’, उनले भने, ‘आगामी असार मसान्तसम्ममा करिब चार किलोमिटरको ढलानको काम सम्पन्न गर्ने लक्ष्य छ ।’

सो सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले सडकखण्डको करिब नौ किलोमिटरको काम अहिलेसम्ममा ६५ प्रतिशत भौतिक प्रगति र ५२ प्रतिशत आर्थिक प्रगति भएको उनले बताए। सो सडकखण्डका लागि सन्तोषी धर्म एस जेभीले रु ३९ करोड ७४ लाख ५५ हजारमा ठेक्का प्राप्त गरी निर्माण कार्य अगाडि बढाइरहेको र २०८२ चैत मसान्तसम्ममा सकाउनुपर्ने सम्झौता रहेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं ६ को देवीटारस्थित बनखुखोलादेखि वडा नं ८ को घर्तीछापसम्मको सडकखण्डमा ढलान र कालोपत्रको कामले तीव्रता लिइरहेको छ । खण्ड–खण्डमा विभाजन गरी भइरहेको निर्माण कार्यले राम्रो गति लिइरहेको र काम पनि सन्तोषजनक रुपमा भइरहेको उनले बताए । उनका अनुसार देवीटारदेखि सोला भञ्ज्याङसम्मको एउटा खण्ड, सोला भञ्ज्याङदेखि गोकुले–छोटेसाहन अर्को खण्ड, छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी अर्को खण्ड र तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्ड गरी काम अगाडि बढिरहेको छ ।

सो सडकखण्डको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–तालढुङ्गा खण्डको महाभारतको घर्तीछापस्थित सोला भञ्ज्याङमा २०८० साल पुस ६ गते तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

अध्यक्ष जिम्बाका अनुसार तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्डअन्तर्गतको १७ किलोमिटरमा करिब तीन किलोमिटरको ढलानको काम सम्पन्न भइरहेको र कालोपत्र गर्ने काम मात्रै बाँकी रहेको छ । सो सडकखण्डको सबैभन्दा पहिलोपटक करिब पाँच वर्ष अगाडि ठेक्का भएर काम थालनी गरेको तीनखुट्टे–घ्याब्रिङ–देवीटारको काम भने अझै सम्पन्न भएको छैन । पटकपटक म्याद थप गरे पनि काम सम्पन्न नगरेपछि समयमा काम सम्पन्न गर्नका लागि पालिकाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराइरहेको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय विपी राजमार्गदेखि पिन्थली–रजबासको खण्ड ठेक्का आह्वान भइसकेको छ । ती सबै खण्ड गरी विपी राजमार्गको पिन्थलीदेखि महाभारत–खानीखोला हुँदै मकवानपुरको झुरझुरे मदन भण्डारी लोकमार्गसम्मको सडकखण्ड सम्पन्न भएपछि जिल्ला सदरमुकाम धुलिखेलबाट प्रदेश राजधानी हेटौँडा आवतजावतका लागि सहज हुनका साथै सो राजमार्गले जिल्लाको डाँडापारि भेगका नागरिकलाई सहजता हुने आशा गरेका छन् । विकट गाउँमा पनि फराकिलो सडक निर्माण भई कालोपत्र हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit