Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उद्योगमा कोभिडको असर कायमै, प्रदेशका ४० प्रतिशत बन्द

उद्योगमा कोभिडको असर कायमै, प्रदेशका ४० प्रतिशत बन्द
विज्ञापन
Advertisement

चितवन । कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग परिसङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताउछन् । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उनको भनाइ छ ।

उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहेका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताउछन् । उनले भने, “ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैंकलाई पनि समस्या भएको छ । बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।”

कच्चापदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उनले बताए । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उनको बुझाइ छ । “गत वर्षसम्म महँगो बैंक ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चापदार्थको मूल्यवृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ”, कँडेलले भने ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेका छन् । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उनको भनाइ छ । वर्षदिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि वर्षौसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान नदिएको उनको गुनासो छ ।

भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उनको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उनको दाबी छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटल आर्थिक सङ्कटमा परेको बताए । होटल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनुपर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनुपरिरहेको अवस्था छ ।

दिनहुँ घाटा बढ्दै जाँदा पर्यटन उद्योगमा सङ्कट थपिँदै गएको उनको दाबी छ । विदेशी पर्यटकको सङ्ख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उनले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सकेपनि दीर्घकालीन समस्या समाधान नहुने बताए ।

चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उनको भनाइ छ । भैरहवा, पोखरा र काठमाडौंबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उनले बताए । उनले भने, “ट्राभल कम्पनीहरुले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।”

कोभिडपछि व्यवसाय सञ्चालन हुन नसक्दा कतिपय होटलमा बैंकले ताला लगाउने अवस्था समेत आएको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल बन्द भएको बताउछन् ।

समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको उनको भनाइ छ । सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उनको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उनले बताए । उनले भने, “अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।”

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले भने लामो समयको मेहनत र लगानीपछि गौमन्त्र नामक अग्र्यानिक मल कम्पनी लयमा फर्किएको बताए । उनले कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि सञ्चालन गर्दै आएका छन् । गौतमले भने “कोरोना महामारीका कारण केही समय उत्पादन ठप्प गरेको कम्पनी अहिले बल्लतल्ल लयमा फर्किएको छ, तर अहिले पनि समस्या बाँकी नै छन्, माग बढ्न नसक्दा उत्पादनले बजार पाउन सकेको छैन”, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit