काठमाडौं । चालु आर्थिक वर्षमा उद्योग क्षेत्रमा झण्डै पाँच खर्ब रुपैयाँ बराबरको लगानी आउने भएको छ।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुन मसान्तसम्ममा उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत कुल ४ खर्ब ९२ अरब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
यस अवधिमा उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ र लगानी बोर्ड नेपालमार्फत १ खर्ब २ अर्ब २६ करोड रुपैयाँ लगानी स्वीकृत भएको सर्वेक्षणले देखाएको छ। यो थपिएसँगै २०८२ फागुन मसान्तसम्ममा नेपालको उद्योग क्षेत्रमा स्वीकृत भएको कुल लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा थप ९२१ वटा नयाँ उद्योग दर्ता भएका छन्। योसँगै नेपालमा दर्ता भएका कुल उद्योगहरूको सङ्ख्या ११ हजार १ सय ४० पुगेको छ। विभागका अनुसार हालसम्म दर्ता भएका यी उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा करिब ७ लाख ८५ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
यसैगरी, देशमा व्यवसाय गर्ने कम्पनीहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ। २०८२ फागुनसम्म दर्ता भएका कुल कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ। दर्ता भएका कुल कम्पनीहरूमध्ये ९७.५ प्रतिशत हिस्सा प्राइभेट लिमिटेड कम्पनीहरूको रहेको छ भने बाँकी २.५ प्रतिशत मात्र अन्य प्रकृतिका रहेका छन्।
पछिल्लो समय नेपालमा वैदेशिक लगानी भित्रिने क्रम पनि जारी रहेको आर्थिक सर्वेक्षणले देखाउँछ । २०८२ फागुन मसान्तसम्म उद्योग विभागमा कुल ७ हजार ९ सय ५१ वटा परियोजनाका लागि ६ खर्ब २५ अरब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
स्वीकृत वैदेशिक लगानीलाई क्षेत्रगत रूपमा हेर्दा विदेशी लगानीकर्ताहरूको आकर्षण सबैभन्दा बढी सेवा मूलक उद्योगमा देखिएको छ। कुल स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी २८.३ प्रतिशत सेवा उद्योगमा केन्द्रित छ भने सबैभन्दा कम १.३ प्रतिशत मात्र खनिज उद्योगमा रहेको सर्वेक्षणमा उल्लेख छ ।

















प्रतिक्रिया दिनुहोस्