काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा दुईबीच छलफल भएको छ । भेटका क्रममा भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका मन्त्री खट्टरले मंगलबार संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका थिए । नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको भन्दै मन्त्री खट्टरले दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने उल्लेख गर्दै निर्माणाधिन अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने बताएका थिए ।
उनि आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।















प्रतिक्रिया दिनुहोस्