काठमाडौं । असन्तुष्ट नेपाल विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा कर्मचारीका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको जनाउँदै परिषद्ले आज पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो।
परिषद्का महासचिव शान्तिनाथ योगीले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनमा वार्ताको क्रममा महासंघले एकलौटी रुपमा मन्त्रालयसँग आफूहरुलाई धोकामा राखेर सहमती गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए।
‘रहस्यमय ढङ्गबाट वैशाख १७ गतेका दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भएको वार्तामा संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र नेपाल सरकारलाई बुझाएको संस्थागत धारणाको मर्म विपरीत हुने गरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्यो।’
महासंघको नेतृत्वले निजामती सरहको ग्रेड मिलान, स्थायी र सबै प्रकारका शिक्षकहरूका लागि दुर्गम भत्ता प्राप्त गर्ने, मर्यादाक्रममा शिक्षकलाई राख्ने, निमावि प्रथम श्रेणीको शिक्षकको तलब ग्रेड मावि, द्वितीय श्रेणीको शिक्षक सरह हुने लगायतका विषयमा तीव्र लबिङ गरेर विद्यालय कर्मचारीलाई सडकमै बिनासूचना छाडिदिएको र एकलौटी वार्ता गरेको आरोप महासचिव योगीको छ । उनले भने, ‘यसो हुँदा विद्यालय कर्मचारीहरूमा असन्तुष्टि पैदा हुनु स्वाभाविकै हो। तसर्थ आम विद्यालय कर्मचारीमा पर्न गएको नैतिक दबावलाई मध्यनजर गर्दै विभिन्न माग राखी आन्दोलन परिचालन समिति गठन गरी प्रथम चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ।’
यस्ता छन् परिषद्को माग र आन्दोलनका कार्यक्रम
परिषद्का महासचिव योगीले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने, हालसम्मका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको विरामी बिदा सञ्चित गराउनुपर्ने माग राखेको जानकारी दिए । यस्तै, शिक्षकहरुको तलब मान कायम गराउनुपर्ने, विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएकै समयमा शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउनुपर्ने माग परिषद्को रहेको छ ।
परिषद्ले बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ। परिषद्ले सार्वजनिक गरेको चरणबद्ध आन्दोलनमा वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने उल्लेख छ। यस्तै, जेठ ४ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने, ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने तयारी परिषद्को रहेको योगीले बताए ।
यसैगरी, जेठ ६ गते शिक्षा विकास तथा समन्वय एकाइ ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षणपत्र बुझउने, ७ गतेनै ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने, जेठ ९ र १० गते काठमाडौंस्थित माइतीघर मण्डलादेखि सडक आन्दोलन गर्ने परिषद्ले जनाएको छ ।
१० गते नै दोस्रो चरणको थप आन्दोलनका कार्यक्रमबारे घोषणा गर्ने महासचिव योगीले बताए । तर, परिषद्का अध्यक्ष गंगाराम तिवारीले यही वैशाख २१ गतेदेखि हुन गैरहेको कक्षा –१२ को परीक्षामा कुनै पनि असर नपुर्याई आन्दोलन गर्ने बताए। परीक्षापछि भने आन्दोलनलाई सशक्त बनाउने उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्