काठमाडौं ।दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंले आफ्नो ५४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। शनिबार आयोजित कार्यक्रममा क्याफेले नेपाली स्वाद समेटिएको ‘छोयला बर्गर’ सार्वजनिक गरेको छ।
हार्ड रक क्याफे विश्वभर एकसाथ मनाइने वार्षिकोत्सवको यो ५४औँ संस्करण हो। हाल विश्वका विभिन्न मुलुकमा १७० भन्दा बढी शाखा फैलिएको यस अमेरिकन फ्रेन्चाइज क्याफेले हरेक सहरमा स्थानीय स्वाद झल्कने बर्गर सार्वजनिक गर्दै आएको छ। काठमाडौंको क्याफेले यसपटक नेपाली परिकार ‘छोयला’बाट प्रेरित बर्गर प्रस्तुत गरेको हो।
कार्यक्रममा क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले ‘छोयला बर्गर’को औपचारिक लन्च गरिएको जानकारी दिए। उनका अनुसार, “गत वर्ष सार्वजनिक गरिएको काठमाडौं बर्गर विश्वभरका हार्ड रक क्याफेहरूबीच उत्कृष्ट पाँचमा परेको थियो। यस वर्ष पनि हाम्रो प्रयास नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हो।”
बर्गर निर्माण क्याफेका सेफ विप्लव महर्जनले गरेका हुन्। क्याफेले नेपाल भ्रमणमा आउने पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउँदै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको सुवेदीले बताए।
कार्यक्रममा डेनमार्कका वाणिज्य दूत हरि धरेल र सेफ गोविन्द नरसिंह केसीको उपस्थिति रहेको थियो।
सुवेदीका अनुसार हार्ड रक क्याफे काठमाडौंले फुड सर्भिससँगै सुभिनियर सपमार्फत पनि सेवाग्राहीलाई आकर्षित गरिरहेको छ। “हाम्रो सुभिनियर सपमा टिसर्ट, मग, ग्लासजस्ता सामग्री पाइन्छन्,” उनले भने, “पाटनमा अर्को सुभिनियर सप सञ्चालनमा छ भने ठमेलमा नयाँ सप खोल्ने योजना बनाइएको छ।”
पोखरामै पनि हार्ड रक क्याफे विस्तार गर्ने तयारी भइरहेको सुवेदीले जानकारी दिए। साथै, विकेन्डमा लाइभ म्युजिकको कार्यक्रम आयोजना गर्दै आएको क्याफेले शुक्रवार र शनिवार सर्वाधिक भीडभाड हुने जनाएको छ।
हार्ड रक क्याफे काठमाडौं सन् २०२१ नोभेम्बरमा स्थापना भएको हो। क्याफेले अन्तर्राष्ट्रिय स्तरको सेवा र वातावरणमार्फत नेपाली खानाको प्रवर्द्धन गर्दै आएको बताइन्छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्