काठमाडौं। चर्चित सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले आर्थिक कारोबार पारदर्शी रहेको दाबी गरेको छ।
सचिवालयका अनुसार गैरीधारास्थित ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग सम्पत्ति खरिद–बिक्री सम्झौताबाट विवाद उत्पन्न भएको हो । विज्ञप्तिअनुसार आर्जव होल्डिङ्सद्वारा सञ्चालन हुँदै आएको ‘सिला’ रेष्टुरेन्ट आर्थिक संकट, बैंक ऋण तथा भवन खाली गर्नुपर्ने दबाबमा रहेको अवस्थामा सम्पूर्ण सम्पत्ति २ करोड २५ लाख रुपैयाँमा खरिद गरी मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।
सचिवालयले सो क्रममा आर्जव होल्डिङ्सको बाँकी दायित्व स्वरूप ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुल समेत सम्बन्धित निकायलाई भुक्तानी गरिएको दाबी गरेको छ । साथै, नेपाल बैंकबाट लिइएको ऋण किस्ता पनि नियमित रूपमा तिरिरहेको जनाएको छ । विवादमा रहेको २५ लाख रुपैयाँबारे सचिवालयले उक्त रकम बाँकी एकमुष्ट दायित्व नभई विभिन्न चरणमा बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिएको उल्लेख गरेको छ । विवरणअनुसार नबिल बैंकमार्फत १७ लाख, लक्ष्मी सनराइज मार्फत ६ लाख तथा नेपाल बैंक लिमिटेड मार्फत ५ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको दाबी गरिएको छ।
सचिवालयले आर्जव होल्डिङ्सको प्रतिनिधि बताउने सकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरेको तर सम्झौताअनुसार कम्पनीकै खातामा भुक्तानी गरिएको जनाएको छ । साथै, आवश्यक बिल तथा कर चुक्ता प्रमाणपत्र पटक–पटक माग गर्दा पनि उपलब्ध नगराइएको आरोप लगाएको छ ।
पक्राउ प्रकरणबारे सचिवालयले अदालतको फैसला अनुसार जम्मा ४ लाख ५० हजार रुपैयाँको विवाद रहेको दाबी गर्दै उच्च अदालतमा अपील गर्ने तयारी भइरहेका बेला हदम्याद बाँकी रहँदै पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । उता, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनकपुर पुगेर गरेको पक्राउलाई पनि सचिवालयले ‘हतारपूर्ण र असामान्य’ भन्दै आलोचना गरेको छ । साथै, साह फरार रहेको भन्ने प्रचार गलत भएको र उनी एक साताअघि नै प्रहरी कार्यालयमा उपस्थित भएको दाबी गरिएको छ ।
साहको सचिवालयले यस घटनाले साहको प्रतिष्ठा र पेशागत गरिमामा आघात पुगेको भन्दै यसलाई चरित्रहत्या प्रयासको रूपमा व्याख्या गरेको छ। साह हिरासतबाट आजै मुक्त भइसकेका छन्। उनको सचिवालयले सम्पूर्ण घटनाक्रम, रेष्टुरेन्ट खरिद प्रक्रिया तथा वित्तीय कारोबारबारे थप विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्