Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

समयमै पानी नपर्दा महोत्तरीमा धान रोपाइँ गर्न ढिलाई

समयमै पानी नपर्दा महोत्तरीमा धान रोपाइँ गर्न ढिलाई
नुवाकोटको विदुर नगरपालिका–४ मा शनिबार धान रोप्दै रोपाहा । समयमा वर्षात भएकाले सिँचाइ अभाव नहुँदा यो वर्ष नुवाकोटमा हालसम्म ६० प्रतिशत खेतमा रोपाई भइसकेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । तस्बिर : रामहरि न्यौपाने / रासस
विज्ञापन
Advertisement

महोत्तरी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो बिहीबार साउन चौथो साता सुरु हउञ्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।“साउन तेस्रो साता प्रारम्भसँगै पानी पर्न थालेपछि रोपाइँले गति लिएको छ, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्” कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भने, “रोपाइँ आज ६० प्रतिशतको हाराहारी पुगेको छ ।” साउन मसान्तसम्म यसै गतिमा रोपाइँ बढ्नसक्दा ८० प्रतिशत नाघ्ने कार्यालयको अड्कल छ ।

साउन मध्ययता इनार, स्यालोट्यूवबेल र डिपबोरिङबाट तानिएको पानीले आकासे पानीको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताउँछन् । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै खेत हिल्याउन सहयोग पुगेको किसानले बताएका छन् ।

“परेकै पानीले खेत हिल्याउन त पुग्थेन, तर पानी परिरहँदा चाँडै खेत हिल्याउन सजिलो भयो” भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादवले भने, “हाम्रो बस्तीमा लगभग धान रोपाइँ सकिएको छ ।” साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धाजा फाटेको खेतको रोपो पनि लहलहाएको यादव सुनाउँछन् । साउन तेस्रो साता सुरु भएयता त्यसअघिको रोपोलाई परेकै पानीले सास भरेको किसान बताउँछन् । “रोपाइँ गर्नचाहीँ अझै हामी इनार, डिपबोरिङबाट पानी तान्दैछौंँ, तर पहिलेको रोपोलाई भने परेकै पानीले पुगेको छ” बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, “पुरानो रोपो लहलहाउन थालेपछि धान भित्रिने आस जागेको छ ।”

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यसमध्ये हिजोसम्म २५ हजार ७०० हेक्टर जग्गामा धान रोपिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यो रोपाइँ ५७ प्रतिशतभन्दा केही बढी हो । अहिले पनि किसान रोपाइँमा धसिएका छन् । अबका दिन वर्षा अनुकूल रहे साउन मसानतसम्म रोपाइँ ८० प्रतिशत नाघ्ने बाली विज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी महतो बताउँछन् ।

यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोप किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा पटक–पटक ब्याड राख्नुपरेको औरही–७ भोइलका किसान मोहन महतो बताउँछन् । अब अहिले पानीको केही अनुकूलता हुँदा बीउ भने अपुग बन्दै गएको महतोको भनाइ छ ।

“खरुअन कलम, पहिलो बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम पहिलो रोप नगाँजिदा छैन, बीउ ब्याडमै कतिपटक सुक्यो, अब अहिले बीउको हाहाकार पर्दैछ” महतोले किसानका दुःख सुनाए । बीउ, मल, सिँचाइजस्ता आधारभूत खेतीका कुरा नपाइँदा कहिल्यै समयमा खेती लगाउन नपाएको यहाँका किसानको बिलौना छ ।

महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली मुख्यत पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदापछि परेको हो । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोपी) सक्ने र साउन मसान्तसम्म खरुअन रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit