मुगु । हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीमा आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
मुगुमा कुल खेतीयोग्य ३१ हजार १० हेक्टर क्षेत्रफल जमिनमध्ये करिब १७ हजार हेक्टर जमिन स्याउखेतीका लागि उपयुक्त भए पनि हालसम्म ७ सय हेक्टरमा मात्र स्याउखेती भइरहेको छ । ताल्चा, कालापाल्त, गौरापाति, रोवा, भोवा, घटालेख, वाम, सोरुकोट, रारा, कच्र्चे, धैनकोट, खमाले, लमेरा लगायत तीन दर्जनभन्दा बढी क्षेत्रका किसान अहिले बिहानदेखि बेलुकीसम्म स्याउ टिप्न र बिक्रीमा व्यस्त छन् ।
स्थानीय बजारसँगै बाहिरी जिल्लासम्म माग बढेसँगै व्यापारीहरू सिधै बगैंचामै पुगेर स्याउ खरिद गर्ने गरेका छन् । कृषकहरूले प्रति किलो ४० देखि ५५ रुपैयाँ सम्ममा बारीबाटै स्याउ बिक्री गर्दै आएका छन् । जसबाट वार्षिक ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय स्याउ खेतीमा लागेपछि भारत वा अन्य देशमा मजदुरी गर्न जानेहरुका लागि आफ्नै बारीमा स्याउखेती गरेर परिवारसँग बस्न सक्ने अवस्था बनेको किसान जस बहादुर बुढाले बताए ।
बिगतको तुलनामा पछिल्ला वर्ष स्याउ उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष जिल्लाबाट १३५ मेट्रिक टन स्याउ निर्यात हुँदा ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष भने उत्पादन बढेर २१० मेट्रिक टन पुगेको छ भने १ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।
मुगुमा रेड गोल्डेन, गोल्डेन, चक्लेटी, रेड डेलिसियस लगायतका विभिन्न जातका स्याउ उत्पादन भइरहेको छ । कृषकहरूले स्याउको भुजा, जाम, जेली, जुस लगायतका विभिन्न सामग्री बनाएर थप आम्दानी गर्ने सम्भावना थपिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाई, मुगुका प्रमुख तेज विक्रम मल्लका अनुसार स्याउखेती प्रवद्र्धनका लागि काटछाँट, कलमी, बेर्ना उत्पादन, भण्डारणलगायत विषयमा तालिम र अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् । किसानहरूले कोल्डस्टोर निर्माण, ढुवानीमा अनुदान र बजार व्यवस्थापनमा सरकारले थप सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् । राज्यका तीनै तहका सरकारले आवश्यक लगानी र पूर्वाधार विस्तार गरे, मुगु जिल्लाका बासिन्दा स्याउखेतीबाट पूर्णरूपमा आत्मनिर्भर बन्न सक्ने यहाँका कृषकहरुले बताएका छन् ।
















प्रतिक्रिया दिनुहोस्