काठमाडौं । लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत भ्रमणमा छन् ।
उनको यो भारत भ्रमण पहिलो आधिकारिक भ्रमण समेत हो । भ्रमणबाट दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री स्टार्मर १२५ सदस्यीय प्रतिनिधिमण्डल को साथमा भारत पुगेका हुन् । प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेजका प्रमुख सिइओ सीन डोयल लगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन् ।
दुई दिने यो भ्रमण स्टार्मर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जुलाईमा लन्डनमा भएको भेटपछि भएको हो । लन्डनमा दुवै नेताले दीर्घ प्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । स्टार्मरले बिहीबार मोदीसँग भेटवार्ता गर्ने र त्यसपछि मुम्बईमा आयोजित फिनटेक सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एक विज्ञप्तिमा प्रधानमन्त्री स्टार्मरले भनेका छन्, “सन् २०२८ सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने क्रममा छ र उनीहरूसँग व्यापार छिटो र सस्तो बनाउने अवसरहरू अतुलनीय छन् ।”

भारत र यसको पूर्व औपनिवेशिक शासक बेलायत हाल विश्वका पाँचौँ र छैटौँ ठूलो अर्थतन्त्र हुन् । दुवै देशबीच करिब ५४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार र लगानीले छ लाखभन्दा बढी रोजगारीलाई समर्थन पुर्याएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले भारत–बेलायतबीच अग्रगामी साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने बहुमूल्य अवसर प्रदान गर्नेछ ।”
नयाँ सम्झौताअनुसार भारतले ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणजस्ता ब्रिटिस वस्तुहरूमा आयात कर घटाउने भएको छ भने बेलायतले कपडा, जुत्ता र भारतबाट फ्रोजन झिँगेमाछा लगायतका खाद्य वस्तुहरूमा भन्सार शुल्क कम गर्ने सहमति जनाएको छ ।
तर प्रधानमन्त्री स्टार्मरले उद्योग क्षेत्रको दबाबका बावजुद भारतीय पेशेवरहरूका लागि भिसा पहुँच विस्तार गर्न अस्वीकार गरेका छन् । मुम्बईतर्फ जाँदै गर्दा उनले पत्रकारहरूलाई भने, “त्यो योजनाको हिस्सा होइन । हामीले हस्ताक्षर गरिसकेको व्यापार सम्झौताबाट फाइदा लिनु नै हाम्रो उद्देश्य हो-अब त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।”
यसैबीच, मानवअधिकार समूहहरूले प्रधानमन्त्री स्टार्मरलाई सन् २०१७ देखि भारतमा हिरासतमा रहेका स्कटिस सिख ब्लगर जगतर सिंह जोहलको मुद्दा उठाउन आग्रह गरेका छन् । जोहालमाथि दक्षिणपन्थी हिन्दू नेताहरूको हत्याको कथित षड्यन्त्रको आरोप लगाइएको थियो, तर अहिलेसम्म उनलाई दोषी ठहर गरिएको छैन । उनीविरुद्धका नौमध्ये एउटा आरोप गत मार्चमा अदालतले खारेज गरिसकेको छ ।राससर / एफपी







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्