वीरगञ्ज । गत आर्थिक वर्षमा पर्सामा एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रुपैयाँ लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् ।
गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ एक अर्ब पाँच करोड ७७ लाख नौ हजार ३६० रुपैयाँ रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने ६७ करोड ४४ लाख सात हजार पाँच सय ४० रुपैयाँ रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका नौ सय ६३ घरेलु उद्योगले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने जानकारी दिए ।
‘पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत आवमा दर्ता भएका घरेलु उद्योगले एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्’, उनले भने।
कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगको कूल पुँजी भने ४३ करोड ८२ लाख रुपैयाँ रहेको छ । कृषि तथा वन अन्य उद्योगतर्फ भने एक सय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कूल पुँजी ३९ करोड ३५ लाख रुपैयाँ रहेको पञ्जीयारले बताए ।
पञ्जीयारको अनुसार निर्माणतर्फ कूल पुँजी १० करोड ३३ लाख रहने गरी ७५, पर्यटन उद्योगतर्फ कूल पुँजी दुई करोड २३ लाख रहने गरी एक सय छ, सेवातर्फ कूल पुँजी भने ६६ करोड ८२ लाख रहने गरी चार सय २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

















प्रतिक्रिया दिनुहोस्