Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

‘प्रहरीभित्र प्रशस्त शुद्धीकरण र सुधारको आवश्यकता छ, हामी लाग्छौँ’

‘प्रहरीभित्र प्रशस्त शुद्धीकरण र सुधारको आवश्यकता छ, हामी लाग्छौँ’
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको उनको भनाइ थियो ।

गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा प्रतिक्रिया अभिव्यक्त गर्दा निशानामा पर्ने भन्दै गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिबिम्ब भएको धारणा राखे । ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीका साङ्गठनिक, व्यक्तिगत सामान लुटपाट तथा आगजनी भएकाले स्रोतसाधनको अभाव भई यसको प्रत्यक्ष असर आमनागरिकमा समेत पर्दै गएको उनको भनाइ थियो । ‘न्यून साधनस्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई उक्त आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ । त्यसबाट सम्हालिँदै अगाडि बढ्नुपर्छ, उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्दै निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिन प्रहरी लाग्नुपर्ने आवश्यकता छ’, अर्यालको भनाइ थियो ।

गृहमन्त्री अर्यालले पछिल्ला समय देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताए । ‘पछिल्ला समय केही जिल्लामा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाले नेपाली समाजको विशेषताको रूपमा रहेको आपसी सद्भाव, सहिष्णुता तथा भाइचारामा खलल पु¥याउने दुष्प्रयास भएको देखिन्छ, यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । यस्ता गतिविधिलाई रोक्न बेलैमा लाग्न जरुरी छ’, उनले भने ।

कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले हालको परिस्थितिमा र आगामी दिनमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न प्रहरी प्रतिबद्ध रहेको बताए । उनले असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाइ प्रहरीलाई नागरिक भरोसाको केन्द्रका रूपमा अगाडि बढाउन प्रहरी व्यावसायिक रूपमा सक्षम रहेको समेत धारणा राखे ।

महानिरीक्षक खापुङले भने, ‘नेपाल प्रहरीबिनाको समाज कल्पना पनि गर्न सकिँदैन। समाजमा प्रहरीको माग दिनप्रतिदिन बढ्दै गएको छ । विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको छ । यसका लागि आगामी दिनमा थप २५ हजार जनशक्ति आवश्यक छ । यस विषयमा पनि सोच्नुपर्छ र प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न जरुरी छ । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकता छन् । यसमा हामी लाग्छौँ ।’

प्रहरी दिवसका अवसरमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्णबहादुर राना, मोतीलाल कला उत्कृष्ट अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी, पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोलाकुमार भट्टलाई प्रदान गरिएको छ ।

यस्तै, यस वर्ष कर्तव्य पालनका सिलसिलामा वीरगती प्राप्त गरेका ६ प्रहरी कर्मचारीका आश्रित परिवारलाई जनही एक लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहीद स्मारकमा पुप्पगुच्छा अर्पण गर्नुका साथै प्रहरी दर्पण–२०८२ विमोचन गरिएको थियो ।

प्रहरी ऐन, २०१२ अनुसार स्थापना भएको नेपाल प्रहरीले आजदेखि आफ्नो स्थापनाको सात दशक पूरा गरेको छ । सुरुमा सात हजार ७१५ जनशक्ति रहेको नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जनशक्ति रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit