म्याग्दी ।वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् ।
सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् ।
अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलबार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताए । ‘पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा हिउँ जमेकाले जान सकेनौँ’, उनले भने , ‘मौसममा सुधार भएपछि पैदलयात्रा गरेर हुमखोला आएका छौँ ।’ आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने सवारीसाधनको अभाव भएको छ ।
उक्त पदमार्गमा करिब १५० जना पर्यटक हिमपात र वर्षात्का कारण मङ्गलबार रोकिएका थिए । यही कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।
आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जिल्लाका पर्यटकीय स्थलहरुमा गएका पर्यटकहरू हालसम्म सुरक्षित रहेका जानकारी दिए ।
यसैगरी म्याग्दीको मुदी हुँदै धौलागिरि चक्रीय पदमार्ग भएर मुस्ताङको मार्फा जाने क्रममा रोकिएका तीन जना बेलायती र १२ नेपाली शेर्पा तथा पथप्रदर्शकको उद्धारका लागि जोमसोमबाट सुरक्षाकर्मी टोली गएको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्