काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई कुनै दबाब वा प्रभावका आधारमा नहटाउने स्पष्ट गरेको छ ।
गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’
विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको उल्लेख छ ।
यस्तै मेयर बालेन्द्रले गृहमन्त्रीलाई हटाउन दबाब दिएको विषयमा प्रधानमन्त्री शुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख गर्दै सो प्रचार भ्रमपूर्ण भएको प्रधानमन्त्रीको सचिवालयले प्रस्ट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।’

















प्रतिक्रिया दिनुहोस्