काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो ।
सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८.३३ रुपैयाँ तोकेको छ भने मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३.८१ रुपैयाँ निर्धारण गरेको छ । सोहि समर्थन मूल्य अनुसार कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, विरगन्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट खाद्यले धान खरिद गर्न लागेको हो ।
कम्पनीका सुचना अधिकारी माधव मिश्रका अनुसार धान खरिदका लागि यसवर्ष करीब ७० करोड रुपैयाँ बजेट छुट्याइएको छ । हालसम्म धनगढीमा मात्रै कम्पनीले खरिद कार्य सुरु गरेको छ भने अन्य स्थानमा केहिदिन भित्रै खरिद कार्य सुरु गने तयारी रहेको मिश्रले जानकारी दिए ।
उनका अनुसार गत वर्ष कम्पनीले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा निकै कम साढे ११ हजार मेट्रिक मात्र खरिद गरेकामा यसवर्ष खरिद लक्ष्य घटाइएको छ । पश्चिम नेपालका जिल्लाहरुबाट धान खरिदका लागि निकै दबाब आइरहेकाले पछि खरिद लक्ष्य बढ्न सक्ने उनको भनाइ छ ।
















प्रतिक्रिया दिनुहोस्