काठमाडौं । आगामी मंसिर १ देखि काठमाडौंमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी अधिकार ‘डिशहोम गो’ ले पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको हो । यो सँगै दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्न नेपालबाट ३०० र खाडीबाट हेर्नले ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने डिस मिडियाले जनाएको छ । अन्य देशका दर्शकले भने १० अमेरिकी डलर तिर्नुपर्नेछ।
एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ। दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ। डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरि विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्।
साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जानकारी दिएको छ ।
उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको उल्लेख गरेको छ। मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न अनलाइन प्रशारण प्रणाली निर्माण गर्ने कम्पनी हो। यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए।
अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग सहकार्य गर्दै आएको छ। यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोधरहित सञ्चालनलाई सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्