धादिङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन, उचित बजार व्यवस्थापनसँगै निर्यात अभिवृद्धि गराउन आफू निरन्तर लाग्ने बताएका छन् ।
धादिङ उद्योग वाणिज्य संघको बिहीबार सम्पन्न साधारण सभामा उनले स्थानीय उत्पादन र रैथाले बाली प्रर्वद्धन गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रम समापनपछि संघका अध्यक्ष रामकुमार डल्लाकोटीले चोयाले बुनेको डालीभरि धादिङको रैथाने कालो मासको दाल कोशेली स्वरूप दिए । अतिथिलाई गरेको सम्मानप्रति ढकालले भने, ‘यहाँको स्थानीय उत्पादनलाई सम्मानपूर्वक प्रवर्द्धन गर्दै अतिथिलाई उपहार दिने परम्परा जिवन्त राख्नु– साँच्चिकै प्रशंसनीय पहल हो।’
धादिङको मास, गेडागुडी र स्थानीय कृषि उत्पादनको काठमाडौं उपत्यका र आसपासका जिल्लामा राम्रो खपत हुने गरेको छ ।

‘म स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन, उचित बजार व्यवस्थापन, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिका लागि निरन्तर प्रतिबद्ध छु। आज प्राप्त यो उपहारले नेपालको माटो, मेहनत र पहिचान समेटिएको उत्पादन नै सबैभन्दा मूल्यवान हो र चोयाको डाली जस्ता उपयोगी सामग्रीले प्लास्टिकका विकल्प निर्माण गर्दै संरक्षण र टिकाउपनको सन्देश दिन सक्छन्’ अध्यक्ष ढकालले भने ।
धादिङ उद्योग वाणिज्य संघलाई स्वदेशी उत्पादनलाई प्राथमिकता दिई स्थानीय उद्यमीलाई सम्मान गरेको भन्दै जिल्लाको पहिचानलाई देशव्यापी बनाउने अर्थपूर्ण कदमका लागि ढकालले धन्यवाद प्रकट गरेका छन् ।
अध्यक्ष ढकालले भनेका छन्, ‘स्थानीय उत्पादनको मूल्य बुझौं, उपयोग बढाऔँ र स्वदेशी उत्पादनप्रति गर्व गरौँ।’







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्