काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।
राष्ट्रपति पौडेलले ३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ, यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु, त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’, राष्ट्रपति पौडेलले भने ।
उनले राजनीति पेसा, व्यवसाय होइन यो त समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भाव सबैमा जागृत हुन जरुरी रहेको उल्लेख गरे । ‘नेपाली जनताले यतिबेला हामीसँंग गरेको मुख्य अपेक्षा नै यही हो भन्ने पनि हामी नभुलौँ’, राष्ट्रपति पौडेलले भने । युवा पुस्ताको आन्दोलनमा प्रकट भएको चाहना पनि यही रहेको उनको भनाइ थियो । देशका विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरे ।
‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो, त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ, यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं भन्ने अपिल पनि म यस अवसरमा गर्दछु’, राष्ट्रपति पौडेलले भने ।
काठमाडौं महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो । ‘सेवाग्राही, लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा र योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको मैले ठानेको छु’, राष्ट्रपति पौडेलले भने ।
यस्तै, उनले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवद्र्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम रहेको बताए । विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताए । ‘यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ’, राष्ट्रपति पौडेलले भने ।
काठमाडौं नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रूपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उनले व्यक्त गरे । ‘त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका हुन् ।

















प्रतिक्रिया दिनुहोस्