काठमाडौं । स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच ‘नेशनल घर निर्माण फेस्ट २०८२’ को आयोजना तथा प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने यस राष्ट्रिय स्तरको घर निर्माणसम्बन्धी प्रदर्शनीमा शिवम् सिमेन्ट ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको हो।
घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय प्रदर्शनी आगामी पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आयोजकले जनाएको छ। प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, प्राविधिक परामर्श, निर्माण सामग्री तथा नेपालभरिका निर्माण व्यवसायी र नवीनतम प्रविधिहरू एउटै थलोमा प्रस्तुत गरिनेछ।
कार्यक्रममार्फत गुणस्तरीय, सुरक्षित तथा दिगो घर निर्माणसम्बन्धी राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ।
एक्स्पोको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इँटा प्रदर्शनी पनि समावेश गरिने जानकारी दिइएको छ। उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता, सीप र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
नेशनल घर निर्माण एक्स्पो २०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीनतम जानकारी, प्रविधि र अनुभव साटासाट गर्ने प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास आयोजकको छ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले देशका राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला परियोजनाहरूमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विभिन्न पूर्वाधार तथा संरचना निर्माणमा प्रयोग हुँदै आएको शिवम् सिमेन्ट नेपाली निर्माण क्षेत्रको विश्वासिलो ब्रान्डका रूपमा स्थापित छ।
हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टमार्फत आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा तथा निरन्तर आपूर्तिका कारण शिवम् सिमेन्ट ग्राहकहरूबाट अत्यधिक रुचाइएको र विश्वास गरिएको सिमेन्ट ब्रान्ड बन्न सफल भएको छ।
नेपाल गुणस्तर चिह्न (एनएस ५७२ र ४९), बीआईएस (आईएसआई) तथा आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले विभिन्न असहज परिस्थितिमा पनि देशको भौतिक पूर्वाधार विकासमा निरन्तर सेवा र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्