काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वको जिम्मेवारी बहुमतबाट पनः पाएका छन् । एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली काठमाडौंमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९ मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर देशको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीन पटक सम्म पूरा सरकारको नेतृत्व गरिसकेका छन् । पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिराखेका ओली गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए ।
गत मङ्सिर २७ गतेदेखि काठमाडौंमा सुरु भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविवेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । पपुलर मतले विजयी भएका ओलीसामु ठूलो संख्याका प्रतिनिधिहरुले पुनः भारी भरोसा देखाएका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रुपमा रहेको एमालेलाई विशेष गरी जेन्जी आन्दोलनपछि विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ।
यसअघि अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौंमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष भएका थिए । समृद्धि, विकास र राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि बनाएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिन्छन् । पार्टी पंङ्ति सँगै युवामाझ लोकप्रिय नेताका रुपमा रहेका ओली पछिल्लो समय तिनै युवामाझ अप्रिय पात्र बन्न पुगे । गत भदौ २४ गते मंगलबार प्रधानमन्त्री पदबाट उनले गर्नुपरेको राजीनामा त्यसको उदाहरण हो। पार्टी भित्रै पनि संसद विघटनलाई लिएर ओलीको आलोचना हुँदै आएको छ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलो पटक देशको प्रधानमन्त्री बनेका थिए । त्यसैगरी, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनले दोस्रो पटक सरकारको नेतृत्व गरे । विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष रहेका ओली पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकार बाहिर पुगेका थिए ।
बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्व प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक पटक कठोर यातना भोग्ने नेतामा पर्छन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख भएका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओलीको परिवार तेह्रथुम छोडेर २०२० सालमा झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तर घुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित थिए।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो। राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उनी नेतृत्वदायी भूमिकामा देखिए । अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर हिँडेका ओलीमाथि अब पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकतालाई सुदृढ बनाउँदै वर्तमान राजनीतिक परिस्थितिको सामना गर्नुपर्ने जिम्मेवारी छ ।
सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् । पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उनी रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल भएका थिए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो । माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । कम्प्युनिष्ट आन्दोलनमा होमिएका ओली २०२६ सालमा पहिलो पटक पञ्चायती सरकारको गिरफ्तारीमा परेका थिए ।
पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ परेका थिए । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताए । अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य भए । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी संहाले ।
नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष भएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य थिए।
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य चयन भए । यसैबीच पार्टी जिम्मेवारीका क्रममा पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी सम्हालेका ओली पछि उपप्रधानमन्त्री र परराष्ट्र पनि बने ।
बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उनी पहिलो पटक देशको गृहमन्त्री बनेका थिए । रासस

















प्रतिक्रिया दिनुहोस्