काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् । उनले कानुनको प्रयोगकर्तालाई जानकारी नै नदिई विधेयक निर्माण गर्ने अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।
पूर्वसांसद मञ्च नेपालले आज आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुन संशोधन र खारेजीसँगै भविष्यलाई केन्द्रमा राखेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताएका छन् ।
‘विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’ भन्दै उनले अहिलेको विधेयक निर्माण प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनका अनुसार कानुनको प्रयोगकर्तालाई थाहा नै नदिई निर्माण गरिएका कतिपय विधेयकले नेपालको भूगोल, चेतना र व्यवहारिक आवश्यकतालाई समेट्न सकेका छैनन् ।
‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ,’ उनले भने, ‘यसबाट जनताले आफूले प्रयोग गर्ने कानुनबारे जानकारी पाउँदैनन् र बाध्य भएर पालना गर्नुपर्ने अवस्था आउँछ ।’
सभामुख अर्यालले मुलुकमा गणतन्त्र स्थापना गर्न पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको पनि बताएका छन् । अग्रजहरूको अनुभव, तत्कालीन राजनीतिक संघर्ष र नयाँ पुस्ताको सक्रियताले मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ । कार्यक्रममा मञ्चकी उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदको अनुभव र वर्तमान सांसदको सक्रियताले संसदीय अभ्यासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘संसदीय समितिमा गैरविधायकी अभ्यास’ तथा ‘अन्तरराष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञ प्रस्तुति रहने जानकारी दिएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, सङ्घीय संसद् सचिवालयका महासचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्