काठमाडौं । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताए । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।
आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
यसैबीच आफ्नो पक्षमा आयोगले निणर्य गरेपछि नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश मार्फत छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताएका हुन्।
नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उनको भनाइ थियो । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आत्मासात् गरेर पार्टीले अगाडि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसात् गरेर अघि बढ्ने उल्लेख गरे ।
यस्तै, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एकपटक नबोलाई गरिएको निर्णय आफूहरूलाई मान्य नहुने बताए । निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको उनको आरोप ।
उनले कांग्रेसको संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने दोहोर्याए। यसअघि शुक्रबार दिउँसो पत्रकार सम्मेलनमार्फत उनले आफूहरुको पक्षमा निणर्य नआए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
















प्रतिक्रिया दिनुहोस्