Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

पर्यटकको बसाइ लम्ब्याउन ‘ग्रेटर लुम्बिनी’ अवधारणा कार्यान्वयन गर्न सुझाव

पर्यटकको बसाइ लम्ब्याउन ‘ग्रेटर लुम्बिनी’ अवधारणा कार्यान्वयन गर्न सुझाव
विज्ञापन
Advertisement

सिद्धार्थनगर (भैरहवा)। बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने अधिकांश पर्यटक सोही दिन फर्किने क्रम बढेकाले उनीहरूको बसाइ कम्तीमा एक–दुई दिन लम्ब्याउन सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र सरोकारवाला निकायबीच एकीकृत प्रयास आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

लुम्बिनी आसपासका व्यवसायी, अध्येता, पर्यटन विज्ञ तथा स्थानीयवासीले ‘ग्रेटर लुम्बिनी’ अवधारणाअनुसार तिलौराकोट, देवदह, रामग्रामलगायत बुद्धसँग सम्बन्धित स्थललाई एउटै पर्यटन सर्किटमा जोड्दै धार्मिक, सांस्कृतिक, ग्रामीण तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सके पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने बताएका हुन्।

उनीहरूले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न देशसँग प्रत्यक्ष हवाई सेवा विस्तार, सांस्कृतिक गाउँ, ध्यान केन्द्र, योग, विपश्यना, ग्रामीण पर्यटन तथा अन्तरराष्ट्रिय सम्मेलनजस्ता गतिविधि विस्तार गर्न सके लुम्बिनीलाई ‘डे–टुर’ बाट ‘स्टे–डेस्टिनेसन’ मा रूपान्तरण गर्न सकिने सुझाव दिएका छन्।

लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माले धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले लुम्बिनी अन्तरराष्ट्रिय ब्रान्डका रूपमा स्थापित भए पनि नीतिगत कमजोरी र प्रभावकारी व्यवस्थापन अभावका कारण अपेक्षित आर्थिक लाभ लिन नसकिएको बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख प्रा। दयानिधि शर्माले लुम्बिनीलाई बुद्ध जन्मस्थलमा मात्र सीमित नराखी विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। विश्वविद्यालयका पूर्वक्याम्पस प्रमुख प्रा। फणिन्द्र न्यौपानेले विश्वमा बढ्दो हिंसा र मानसिक तनावका बीच लुम्बिनीलाई शान्ति, ध्यान र शिक्षा केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

लुम्बिनी विकास कोषका सदस्य–सचिव ज्ञानीन राईले लुम्बिनीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र विकास साझेदारबीच समन्वय अपरिहार्य रहेको बताए। कोषका सूचना अधिकारी हरि राईले लुम्बिनीलाई विश्वको आध्यात्मिक राजधानीका रूपमा विकास गर्ने लक्ष्यअनुसार ध्यान, साधना र आत्मचिन्तनका गतिविधि विस्तार गरी पर्यटकको बसाइ लम्ब्याउने प्रयास भइरहेको जानकारी दिए।

धर्म, संस्कृति र सभ्यताका अध्येताहरूका अनुसार लुम्बिनी अब केवल बुद्ध जन्मस्थलमा सीमित नरही विश्वशान्ति, सहअस्तित्व र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। विपश्यना, योग, बौद्ध दर्शन अध्ययन, अन्तरराष्ट्रिय सम्मेलन तथा शान्ति संवादलाई व्यवस्थित रूपमा विस्तार गर्न सके लुम्बिनी विश्वकै प्रमुख आध्यात्मिक पर्यटन गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ।

पछिल्ला वर्षमा लुम्बिनी क्षेत्रमा तारे होटल, रिसोर्ट तथा अन्य गुणस्तरीय आवास सुविधा थपिए पनि अधिकांश पर्यटक केही घण्टा घुमेर फर्किने प्रवृत्तिका कारण पर्यटन व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन। स्थानीय होटल व्यवसायीका अनुसार भारतका बनारस, बोधगया, दिल्ली र लखनऊका ट्राभल कम्पनीसँगको सहकार्य तथा लुम्बिनी–बनारस ‘बिटुबी ट्राभल मार्ट’ र ‘फ्याम ट्रिप’ कार्यक्रमले केही सकारात्मक परिणाम देखाएको छ।

व्यवसायीहरूले हालको अवस्थामा थप निजी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै हरेक वर्ष लुम्बिनी आउने करिब १५ लाख पर्यटकको बसाइ अवधि बढाउन र नयाँ पर्यटक आकर्षित गर्न सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र साझा रणनीति आवश्यक रहेको बताएका छन्।

कमल रायमाझी/रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit