काठमाडौं । नवलपरासी पश्चिम–१ का कांग्रेस उम्मेदवार विनोद चौधरीले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न नेपाली कांग्रेस आफैं परिवर्तन भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।
आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन परिवर्तनका लागि भएको उल्लेख गर्दै त्यसका लागि कांग्रेस तयार रहेको बताए । ‘जेनजी आन्दोलन परिवर्तनका लागि थियो-देशमै गरिखाने वातावरणका लागि, नेपालमै राम्रो शिक्षा पाउने सुनिश्चितताका लागि, र समृद्ध राष्ट्र निर्माणका लागि हो’, उनले भने, ‘यही परिवर्तनको माग सम्बोधन गर्न कांग्रेसले पहिला आफूलाई परिवर्तन गर्यो, अब देश परिवर्तन गर्ने अठोटका साथ अघि बढेको छ।’
चौधरीले आफूलाई नवलपरासीबासीले गरेको साथ सहयोगप्रति भने ‘म प्रति देखाएको विश्वासप्रति म सधैं ऋणी रहनेछु। आफू बदलिएर नेपाली कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको छ।’
कार्यक्रममा प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले इतिहासका हरेक आन्दोलनको नेतृत्व र निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै जेनजी आन्दोलनको निकास पनि कांग्रेसबाटै सम्भव हुने दाबी गरे। ‘कांग्रेस जेनजीकै चाहनाअनुसार परिवर्तन भएको छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिको स्पष्ट खाका कोर्न सक्ने नेता नवलपरासीले पाएको छ।’ उनले ३० महिनाको अवधिमा चौधरीले ३० वर्षमा हुन नसकेका काम गरेको दाबी समेत गरे।फाइल फोटो
















प्रतिक्रिया दिनुहोस्