Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अफगानिस्तान र पाकिस्तानबीच गहिरिँदै सैन्य द्वन्द्व, फाइटर जेट खसालेको पुष्टि

अफगानिस्तान र पाकिस्तानबीच गहिरिँदै सैन्य द्वन्द्व,  फाइटर जेट खसालेको पुष्टि
विज्ञापन
Advertisement

काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीच चर्किँदै गएको सैन्य तनावबीच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको छ । तर, त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् । घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको सङ्केत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी लडाकू जेटलाई गोली हानी खसालिएको थियो। ‘जेट खसालिएपछि पाइलटलाई जिउँदै समातिएको छ’, हम्मादले भनेका छन् । पूर्वी अफगानिस्तानस्थित सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि अफगान सेनाले जेट खसालेको र पाइलटलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

एएफपीका एक पत्रकारले जेटको तीव्र आवाज जलालाबादमाथि सुनिएको र त्यसपछि सहरको विमानस्थलतर्फबाट दुईवटा शक्तिशाली विस्फोटको आवाज आएको बताएका छन् । घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयमा प्रतिक्रिया माग्दा पाकिस्तानको सेना र सूचना मन्त्रालयले तत्काल कुनै टिप्पणी दिएका छैनन्। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीले दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

यसअघि पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल तथा दक्षिणी सहर कान्दाहारमा हवाई आक्रमण गरेको थियो । कान्दाहार तालिबान सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको आधार क्षेत्र मानिन्छ । अफगान पक्षका अनुसार बिहीबार राति अफगान सेनाले पाकिस्तानविरुद्ध सीमा क्षेत्रमा कारबाही सुरु गरेपछि हवाई आक्रमण भएको हो । तालिबान सरकारले भने उक्त कदमलाई अफगान भूमिमा पहिले गरिएको पाकिस्तानी आक्रमणको प्रतिउत्तर भएको बताएको छ । नयाँ घटनाक्रमले क्षेत्रीय सुरक्षामा थप अनिश्चितता ल्याएको छ र दुवै पक्षबीचको सैन्य गतिविधि अझै बढ्न सक्ने सङ्केत गरेको छ ।

तीन सयभन्दा बढी अफगान सैनिक मारिए : पाकिस्तान

यसैबीच पाकिस्तानले अफगानिस्तानभित्र एक दिन लामो तोपखाना र हवाई कारबाहीमा ३०० भन्दा बढी अफगान सैनिक मारिएको दाबी गरेको इस्लामाबादबाट एपीले जनाएको छ। बढ्दो सीमा द्वन्द्वबीच शनिबार सार्वजनिक गरिएको सरकारी विवरणअनुसार अफगान सैन्य चौकीहरू र प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्‍याइएको बताइएको छ ।

सूचनामन्त्री अत्ताउल्लाह तारारका अनुसार ३३१ भन्दा बढी अफगान तालिबान लडाकु मारिएका र ५०० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानले १०२ अफगान चौकी ध्वस्त पारेको, २२ कब्जा गरेको तथा ३७ स्थानमा १६३ ट्याङ्क र बख्तरबन्द सवारी साधन नष्ट गरेको दाबी गरेको छ । सरकारी मिडियाले वायुसेनाले पूर्वी अफगानिस्तानका मुख्य सैन्य लक्ष्यहरूमा आक्रमण जारी राखेको जनाएको छ । यो कारबाही तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का प्रशिक्षण शिविरहरू लक्षित गरी गरिएको आक्रमणपछि सुरु भएको परस्पर प्रतिआक्रमणको निरन्तरता हो। पाकिस्तानले टिटिपीलाई अफगान भूमिबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ, जुन आरोप काबुलले अस्वीकार गर्दै आएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयले भने मिरानशाह र स्पिन वाम क्षेत्रमा पाकिस्तानी सैन्य आधारहरूमा रातभर आक्रमण गरी भारी क्षति पुर्‍याएको जनाएको छ। अफगान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गर्दै पाकिस्तानको ‘हरेक कदमको जवाफ दिइने’ चेतावनी दिनुभएको छ । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको यसअघि जनाएको थियो । पूर्वी अफगानिस्तानका अधिकारीहरूले पाकिस्तानी आक्रमणमा कम्तीमा ११ सर्वसाधारण मारिएको आरोप लगाएका छन् । पाकिस्तानले भने केवल सैन्य लक्ष्यमा प्रहार गरिएको र नागरिक हताहतबाट जोगिन प्रयास गरिएको दाबी गरेको छ ।

तनावका कारण तोरखाम सीमा क्षेत्रमा बसोबास गर्ने सयौँ परिवार विस्थापित भएका छन् । केही अफगान शरणार्थीहरू सीमा पार गर्न नसकी अलपत्र परेका छन् । रमजानको उपवास महिनामा खाद्यान्न अभाव झेलिरहेका स्थानीयहरूले युद्धविरामको माग गरेका छन् । अक्टोबरयता जारी झडपमा दर्जनौँ सैनिक र नागरिक मारिएका छन् । कतारको मध्यस्थतामा भएको युद्धविराम स्थायी हुन सकेन । हाल टर्की, साउदी अरेबिया, कतार र चीनले फेरि मध्यस्थताको प्रयास गरिरहेका छन् । कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीले दुवै देशका विदेशमन्त्रीसँग तनाव कम गर्ने विषयमा वार्ता गरेका छन्। एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit