काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले वर्षायाम सुरु भएसँगै धान रोपाइँको समय नजिकिँदै गएको उल्लेख गर्दै किसानलाई समयमै मल, बीउ र कृषि औजार उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले कृषि, वैदेशिक रोजगारी, पर्यटन, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अच्युतम लामिछानेले किसानले मल, बीउ र कृषि औजार अभाव झेल्नुपरेको भन्दै तत्काल व्यवस्थापन गर्न माग गरे । सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौँको इन्धन आयात गर्नुभन्दा स्वदेशी ऊर्जाको उपयोग बढाउनुपर्ने धारणा राखिन् ।
सांसद अप्सना बानुले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन कठिनाइ भइरहेको उल्लेख गर्दै श्रमिकको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरिन् । सांसद आर्यन राईले ‘निःशुल्क टिकट र निःशुल्क भिसा’ भनिए पनि कामदारले लाखौँ रुपैयाँ तिर्नुपरेको भन्दै वास्तविकता छानबिन गर्न आग्रह गरे । सांसद यशोदाकुमारी बरालले समस्यामा परेका नेपाली श्रमिकलाई तत्काल स्वदेश फर्काउन माग गरिन् ।
सांसद आशीष गजुरेलले सार्वजनिक यातायातको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भीडभाडयुक्त यात्राले यात्रुहरू हैरान भएको बताए । उनले सिन्धुली जिल्ला अस्पतालमा लामो समयदेखि बिग्रिएको एक्स–रे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न पनि माग गरे ।
सांसद आशिका तामाङले धादिङ क्षेत्रमा पर्ने राजमार्गमा बारम्बार समस्या आउने गरेको भन्दै समाधान खोज्न आग्रह गरिन् । विद्युतीय सवारी साधन बीच बाटोमै चार्ज सकिएर रोकिने समस्या बढेकाले पर्याप्त चार्जिङ केन्द्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न माग गरे भने सांसद केपी खनालले सुदूरपश्चिमको सेती लोकमार्ग छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका विभिन्न स्थानमा सामान्य हावा चल्दा पनि विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न पोल र तार परिवर्तन गर्नुपर्ने बताए ।
सांसद कृपा महर्जनले काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा विदेशी सामग्रीको बिक्री नियन्त्रण गर्न नीति ल्याउन माग गरिन् । सांसद कुसुम महर्जनले बढ्दो बेरुजुमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् ।
त्यसैगरी सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिलाई मात्र ज्ञानको आधार मान्ने प्रवृत्तिको आलोचना गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरिन् ।
सांसदहरूले उठाएका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने भन्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्