काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक अध्ययन गर्न समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिलाई बाजुरा–हुम्ला सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।
नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री कार्यालयका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी थिए ।
त्यस्तै, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि मन्त्रालयका उपसचिव भीम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी तथा नापी अधिकृत ज्योति ढकालको पनि सहभागिता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्