जनकपुर । मिटरब्याज पीडितहरूले जनकपुरधामबाट काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन्। बिहीबार जनकपुरधामस्थित ऐतिहासिक तिरहुतिया गाछी मैदानमा देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले न्याय र आफ्ना मागहरूको सम्बोधनको माग गर्दै राजधानी केन्द्रित आन्दोलनको सुरुआत गरेका हुन्।
पैदल मार्चको शुभारम्भअघि पीडितहरूले मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका कागजात प्रतीकात्मक रूपमा जलाएका थिए। उनीहरूले मशाल प्रज्वलन गर्दै आन्दोलनको औपचारिक सुरुआत गरेका हुन्।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यसपटकको आन्दोलन अन्तिम संघर्ष हुने दाबी गरे। उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सरकार गठन भएको १०० दिन बितिसक्दा समेत पीडितको मागप्रति बेवास्ता गरिएको गुनासो गरे। काठमाडौं पुगेर थप सशक्त आन्दोलनमा उत्रिनुअघि सरकारले माग सम्बोधन गर्ने अपेक्षा आफूहरूले राखेको पनि उनले बताए।
पीडितहरूले सरकारसँग ६ बुँदे माग अघि सारेका छन्। उनीहरूले मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायत सबै फर्जी लिखतलाई मन्त्रिपरिषद्को निर्णयमार्फत अवैध घोषणा गरी खारेज गर्न माग गरेका छन्। यस्तै मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी विशेष कानुन निर्माण तथा कार्यान्वयन, मिटरब्याजसम्बन्धी मुद्दा छिटो टुंग्याउन विशेष न्यायाधिकरण गठन, फर्जी मुद्दाको पुनरावलोकन र पीडितमैत्री न्यायिक संयन्त्र स्थापना गर्नुपर्ने माग पनि उनीहरूको छ।
त्यसैगरी साहु–महाजनले अवैध रूपमा आर्जन गरेका सम्पत्तिको छानबिन गरी गैरकानुनी सम्पत्ति जफत गर्न, बैंक कारोबारका आधारमा अनुसन्धान गर्न, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराउन तथा दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग राखिएको छ। क्षतिपूर्ति र सम्पत्ति फिर्ता प्रक्रियामा सहुलियत प्रदान गर्नुपर्ने मागसमेत पीडितहरूले गरेका छन्।















प्रतिक्रिया दिनुहोस्