गण्डकी । पोखरास्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफामा पर्यटकको भीड बढेको छ । आइतबार मात्रै गुफाले टिकट बिक्रीबाट पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ ।
पोखरा–१७ छोरेपाटनस्थित गुफा अवलोकन गर्न एकैदिन चार हजार ४७२ बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ विद्यार्थी गरी कुल छ हजार ७८ जनाले टिकट काटेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।
उनका अनुसार गुफाभित्र ५०० मिटरमा रहेको प्राकृतिक शिवमूर्ति तथा करिब १०० मिटरभित्र देखिने पातले छाँगो (डेभिज फल्स) को दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ । ‘गुफा अलौकिक धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ,’ अध्यक्ष बास्तोलाले भने । गुफा प्रवेशका लागि आन्तरिक पर्यटकलाई ५० रुपैयाँ, बाह्य पर्यटकलाई १०० रुपैयाँ र विद्यार्थीलाई ३५ रुपैयाँ टिकट शुल्क तोकिएको छ । टिकटबाहेक यान्त्रिक कामधेनु गाई र भक्तजनबाट प्राप्त दानसमेत आम्दानीको स्रोत बनेको व्यवस्थापन समितिले जनाएको छ ।
बास्तोलाका अनुसार गुफाको आम्दानी संरक्षण र प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा पनि लगानी हुँदै आएको छ । गुफाले सञ्चालन गरेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गुफा परिसरमा सञ्चालित गुरुकुलमा कक्षा ११ सम्म अध्ययन हुने व्यवस्था रहेको र हाल ४८ विद्यार्थी अध्ययनरत रहेको समितिले जनाएको छ । साथै आसपासका सामुदायिक विद्यालयलाई पनि आर्थिक सहयोग गरिँदै आएको छ ।
गुफाले वार्षिक रूपमा ६ देखि ७ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको अध्यक्ष बास्तोलाको भनाइ छ । गुफा परिसरमा मुस्ताङबाट ल्याइएको १००८ किलोको शालिग्राम, बूढानीलकण्ठको मूर्ति तथा प्रवेशद्वारमा निर्माण गरिएका नवग्रह पनि पर्यटक आकर्षणका केन्द्र बनेका छन् ।
गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेको छ । ‘पोखरा आउने पर्यटकले गुफा नहेरी फर्कँदा भ्रमण अधुरो भएको महसुस गर्न थालेका छन्,’ उनले भने । उनका अनुसार छ हजार जनासम्म क्षमता रहेको गुफामा पर्यटकको भीड बढेपछि व्यवस्थापन गर्न चुनौतीसमेत बढेको छ ।

















प्रतिक्रिया दिनुहोस्