काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित विशेष कार्यक्रममा राजीनामाको घोषणा गर्दै राणाले आफूहरूले बाध्य भएर पार्टी छाड्नुपरेको बताएका छन्।
राजीनामापछि बोल्दै राणाले आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डा पार्टीभित्रबाट कार्यान्वयन गर्न नसकिएको निष्कर्षमा पुगेपछि नयाँ बाटो रोज्न बाध्य भएको बताए। उनले भत्किएको घरमा बसिरहनुभन्दा नयाँ घर निर्माण गर्नु उपयुक्त हुने भन्दै आफ्नो निर्णयको बचाउ गरे।
‘यो खुसीको दिन होइन, दुःखको दिन हो। जब आफूले विश्वास गरेको विचार र एजेन्डालाई आफ्नै घरभित्रबाट अगाडि बढाउन सकिँदैन भन्ने अवस्था आउँछ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र नयाँ घर बनाउनुपर्छ,’ उनले भने।
राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन र पीडादायी समय भएको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान निरन्तर प्रयास गरे पनि सफल हुन नदिइएको दाबी गरे। आन्दोलनको नेतृत्व, संगठन सुदृढीकरण र पार्टीलाई राष्ट्रिय राजनीतिको बलियो शक्तिका रूपमा स्थापित गर्ने प्रयास नेतृत्व तहबाटै अवरुद्ध भएको उनको भनाइ थियो।
‘पार्टीलाई सही बाटोमा लैजान खोजें, आन्दोलनको नेतृत्व गरें, संगठन सुधारको प्रयास गरें। तर मेरा ती प्रयासलाई अघि बढ्न दिइएन,’ उनले भने।
यद्यपि उनले पार्टी नेतृत्वमाथि प्रत्यक्ष आरोप लगाउन चाहेनन्। आफूले छाडेको पार्टी र त्यहाँ रहेका सहकर्मीबारे सार्वजनिक रूपमा गुनासो नगर्ने पनि उनले स्पष्ट पारे।
राजीनामासँगै राणाले राष्ट्रवादी शक्तिहरूबीच नयाँ एकताको आवश्यकता औंल्याएका छन्। राष्ट्रियता, हिन्दु राष्ट्रको एजेन्डा र भ्रष्टाचारविरोधी अभियानमा विश्वास गर्ने सबै शक्ति एक ठाउँमा आउनुपर्ने भन्दै उनले व्यापक सहकार्यका लागि आह्वान गरे।
धवलशम्शेरको नेतृत्वमा भएको यो सामूहिक बहिर्गमनलाई राप्रपाभित्र पछिल्लो समय देखिएको असन्तुष्टिको सबैभन्दा ठूलो अभिव्यक्तिका रूपमा हेरिएको छ। यसले पार्टीको आगामी राजनीतिक दिशा र शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्