काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् ।
एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशालालाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए।
संविधानको रक्षक र पालक हुनुपर्ने राष्ट्रपतिले गर्न नहुने काममा समेत धमाधम हस्ताक्षर गरिरहेको ओलीको दाबी छ। ‘राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा त्यो गरिरहनुभएको छ,’ ओलीले भने ।
संविधान विपरीतका कदमहरू चालेर ‘जुक्तिपूर्वक’ लोकतन्त्र सकाउने खेल भइरहेको उनको टिप्पणी छ।‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन त थिएन’ ओलीले भने, ‘वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिद्याउने काम भएको छ । जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन ।’
नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी भएको ओलीको भनाइ छ।
















प्रतिक्रिया दिनुहोस्