काठमाडौं । नेपाल सरकारको डिजिटल सुशासन र सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्ने नीति अनुरूप नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ।
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एक विशेष कार्यक्रमका बीच यो एप सार्वजनिक गरेकी हुन् ।
यो एप सञ्चालनमा आएसँगै अब नागरिकले जग्गासम्बन्धी विभिन्न सेवाहरू लिन नापी कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। ‘मेरोकित्ता’ एपमार्फत सेवाग्राहीले घरमै बसेर डिजिटल माध्यमबाट नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि एपबाटै सिधै आवेदन दिन सक्नेछन् ।
आवेदन दर्ता भएपछि प्रणालीले एउटा ओटीपी उपलब्ध गराउनेछ। सेवाग्राहीले आफ्नो मोबाइल नम्बर र उक्त ओटीपी प्रयोग गरी आवेदन कुन चरणमा पुगेको छ भनी नियमित रूपमा हेर्न सक्नेछन्। फिल्ड रेखांकन लगायतका सेवाका लागि लाग्ने आवश्यक राजस्व ई–सेवा खल्ती र कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै तिर्न सकिने छ भने सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बर समेत एपमै उपलब्ध गराइएको विभागले जनाएको छ।
यो सेवा मोबाइल एप (एन्ड्रोइड र आईओएस) का साथै वेब संस्करणमा पनि उपलब्ध रहेको नापी विभागले जनाएको छ। बिहीबार एप सार्वजनिक गर्दै मन्त्री रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच बढाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताइन्। जग्गासम्बन्धी कामको लागि कार्यालयमै पुग्नुपर्ने झन्झट अब क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै उनले एपले सरकारी सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
योसँगै अब नापी कार्यालयहरूमा हुने भीडभाड कम हुने, बिचौलियाको प्रभाव घट्ने र आम नागरिकले छिटो–छरितो रूपमा सेवा पाउने अपेक्षा विभागको छ।

















प्रतिक्रिया दिनुहोस्