Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आकर्षक तलबको प्रलोभनमा भारत लगिएका १६ नेपाली कामदार कुखुरा फार्ममा बन्धक

आकर्षक तलबको प्रलोभनमा भारत लगिएका १६ नेपाली कामदार कुखुरा फार्ममा बन्धक
विज्ञापन
Advertisement

जलेश्वर (महोत्तरी) । महोत्तरीको बर्दिवास नगरपालिकाका १६ जना कामदार भारतको हरियाना राज्यस्थित एक कुखुरा फार्ममा बन्धक बनाइएका छन्। आकर्षक तलब, सुविधा र सहज कामको प्रलोभनमा भारत लगिएका उनीहरू अहिले ज्याला नपाई यातना र डरधाक सहन बाध्य भएको खुलेको छ।

विज्ञापन
Advertisement
Advertisement

बर्दिवास नगरपालिका–१४ को मुसहर बस्तीका १० पुरुष र ६ महिला भारतको जिन जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा बन्धक अवस्थामा रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन्। बन्धक परेकामध्ये केही बालबालिकासमेत रहेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार आफन्तहरूले उनीहरूको उद्धारका लागि निवेदन दिएका छन्। निवेदनपछि भारतीय पक्ष र नयाँदिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरेर उद्धार प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्रहरीका अनुसार बर्दिवास–३ गौरीडाँडाका दिलीप परियारले गत चैत १३ गते राम्रो तलब, सेवा–सुविधा र हल्का कामको आश्वासन दिएर उनीहरूलाई भारत लगेका थिए। तर त्यहाँ पुगेपछि उनीहरूलाई कुखुरा फार्ममा राखी काम गराइएको र स्वतन्त्र रूपमा बाहिर निस्कन नदिएको आरोप छ।

बन्धक बनाइएकामध्ये २० वर्षीया किरण सदाले फार्म सञ्चालकबाट लुकेर आफन्तसँग सम्पर्क गर्दै आफूहरूलाई मानसिक यातना दिइएको, ज्याला नदिइएको र जबर्जस्ती काममा लगाइएको जानकारी गराएकी छन्। उनले आफूहरूलाई उद्धार गरिदिन आग्रहसमेत गरेको बताइएको छ।

उद्धारको माग गर्दै वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदालगायत आफन्तहरूले प्रहरीसमक्ष गुहार मागेका छन्। घटनापछि स्थानीय प्रशासनले विषयलाई गम्भीर रूपमा लिएर आवश्यक पहल सुरु गरेको जनाएको छ।

गरिबी र रोजगारीको अभावका कारण वैदेशिक तथा सीमापार श्रममा जान बाध्य हुने समुदायहरू मानव बेचबिखन तथा श्रम शोषणको जोखिममा पर्ने गरेको यो घटनाले फेरि उजागर गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit