काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै नेपाली जनताको मुख्य चाहना भएको बताएका छन्।
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको अपेक्षा पूरा गर्न राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन्।
राष्ट्रपति पौडेलले स्वउत्प्रेरित, अनुशासित, नैतिकवान र जिम्मेवार कर्मचारीले मात्र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने धारणा राखे। यसले लोकतान्त्रिक शासनप्रति नागरिकको भरोसा अझ सुदृढ हुने उनको भनाइ थियो।
उनले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार स्थापित योग्यता प्रणालीको रक्षा र सुदृढीकरण आवश्यक रहेको बताए। लोकसेवा आयोगप्रतिको विश्वास र यसले अवलम्बन गरेको निष्पक्ष प्रणालीका कारण मेहनती युवाले सार्वजनिक सेवामा आफ्नो भविष्य देख्न सकेको उल्लेख गर्दै आयोगले बदलिँदो समयअनुसार आफ्ना कार्यलाई थप परिष्कृत गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले लोकसेवा आयोग सरकारी सेवाका लागि कर्मचारी छनोट गर्ने महत्वपूर्ण संवैधानिक निकाय भएको उल्लेख गर्दै कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले आयोगले आधुनिक प्रविधि र समयसापेक्ष परीक्षण प्रणाली अपनाउँदै आफ्नो कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।
लोकसेवा आयोगले ‘योग्यता, निष्पक्षता र स्वच्छता’का आधारमा साढे सात दशकदेखि जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी चुनौती सामना गर्न प्रविधिमैत्री, वैज्ञानिक र व्यवस्थित कार्ययोजना तयार गर्न आयोगलाई आग्रह गरे।















प्रतिक्रिया दिनुहोस्