काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक परे नेपाल–भारत सहमतिमा सीमावर्ती क्षेत्रमा काँडेतारबार वा पर्खाल लगाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरिन्। साथै, सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे सरकारको स्पष्ट धारणा र आगामी रणनीति सार्वजनिक गर्न माग गरिन्।
तामाङले सुस्ताको समस्या नयाँ नभई वर्षौंदेखि समाधान हुन नसकेको विषय भएको बताउँदै गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा उक्त क्षेत्रमा नेपालको ठूलो भूभाग विवादित बनेको उल्लेख गरिन्। पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय बासिन्दालाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै त्यसको वास्तविकता के हो भन्नेबारे सरकारबाट स्पष्ट जानकारी आवश्यक रहेको उनको भनाइ थियो।
उनले सरकारले हालसम्म के–कस्ता कदम चालेको छ र आगामी दिनमा सीमा सुरक्षाका लागि के रणनीति अपनाउने हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताइन्। सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको उल्लेख गर्दै सीमा समस्या ती क्षेत्रमा मात्र सीमित नरहेको धारणा राखिन्। अन्य सीमा क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौती कायम रहेको उनको भनाइ थियो।
कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको उल्लेख गर्दै तामाङले राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिइन्।















प्रतिक्रिया दिनुहोस्