काठमाडौं । चर्चित नेपाली सेफ तथा बिबिसी मास्टरसेफका पूर्व प्रतिस्पर्धी सन्तोष साहले आफूविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय समाचार भ्रामक रहेको बताएका छन्। उनले ४ लाख ५० हजार रुपैयाँको चेक सम्बन्धी विवादमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी रहँदै आफूलाई पक्राउ गरिएको आरोप लगाएका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा साहले एक महिनाअघि नै पक्राउ पुर्जी जारी भए पनि आफू भद्रकालीस्थित प्रहरी परिसरमा पुग्दा पक्राउ नगरिएको र पछि जनकपुरबाट पक्राउ गरिएको विषयप्रति प्रश्न उठाए।
साहका अनुसार सिला रेष्टुरेन्ट खरिदका लागि मिथिला थाली र आर्जव होल्डिङ्सबीच २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको थियो। उक्त प्रक्रियामा आर्जव होल्डिङ्सको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घरभाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत मिथिला थालीले भुक्तानी गरी सहजीकरण गरेको उनले बताए।
उनले मिडियामा चर्चामा आएको २ करोड २५ लाख रुपैयाँको विवाद सत्य नभएको जिकिर गर्दै आफूलाई ४ लाख ५० हजार रुपैयाँको चेकसम्बन्धी मुद्दामा पक्राउ गरिएको स्पष्ट पारे।
साथै, पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँभन्दा बढी रकमको विषयमा पनि उनले स्पष्टीकरण दिएका छन्। उनका अनुसार आर्जव होल्डिङ्सका विभिन्न बैंक खातामा नबिल बैंकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी कुल २८ लाख २५ हजार रुपैयाँ बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ।
साहले सम्पूर्ण तथ्य अदालतमा प्रस्तुत गर्ने तयारी भइरहेको उल्लेख गर्दै वास्तविकता र सार्वजनिक चर्चाबीच ठूलो अन्तर रहेको दाबी गरेका छन्।















प्रतिक्रिया दिनुहोस्