काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।
पासपोर्ट खरिद गर्दा देउवाको भूमिका शंकास्पद देखिएको भन्दै अख्तियारले प्रारम्भिक अनुसन्धानका लागि उनलाई अनुसन्धानको दायरामा ल्याउँदै बूढानीलकण्ठस्थित भाडाको निवासमा म्याद तामेल गरेको जनाएको छ। निवासमा उनी अनुपस्थित रहेकाले वडाका प्रतिनिधिको रोहबरमा म्याद टाँस गरिएको हो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै हाल उपचारका लागि भन्दै विदेशमा छन् ।
यद्यपी देउवा दम्पत्तीले आफूहरू दुई महिनाभित्र नेपाल फर्किएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि सघाउने भन्दै विभागलाई पत्रमार्फत जानकारी गराएका थिए।
यही प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
यसैगरी, ई–पासपोर्ट खरिद अनियमितता सम्बन्धी अनुसन्धानकै क्रममा अख्तियारले दुई जर्मन कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएको छ। बुधबार आयोगले ‘द राइजिङ नेपाल’ मा सूचना प्रकाशित गर्दै ‘म्युल्बाउअर आइडी सर्भिसेस’ र ‘भेरोडोस कम्पनी’ का प्रतिनिधिलाई भौतिक वा भर्चुअल रूपमा उपस्थित हुन भनेको हो।
उक्त प्रकरणमा म्युल्बाउअर आइडी सर्भिसेस र भेरोडोसले क्रमशः इ–पासपोर्ट प्रणालीका विभिन्न प्याकेजको ठेक्का पाएका थिए। अख्तियारले तोकिएको समयमै उपस्थित नभए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।















प्रतिक्रिया दिनुहोस्